रामेछापको विकास निर्माणको नेतृत्व नेकपाले गर्छः सांसद श्रेष्ठ
८ पुस, रामेछाप ।
नेकपा रामेछापका सह–इन्चार्ज एवं रामेछापका प्रतिनिधिसभाका सांसद श्याम कुमार श्रेष्ठले जिल्लाभित्र विकास निर्माणको नेतृत्व आफ्नो पार्टीले गर्ने बताउनुभएको छ । उहाँले जिल्लाभित्र विकास निर्माणको काम तीब्र गतिमा अगाडि बढेको बताउदै स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरेर काम अगाडि बढाइरहेको बताउनुभएको हो ।
नेकपा मन्थली नगरपालिका कमिटीका सदस्यहरुको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व गृह राज्यमन्त्री समेत रहनुभएका श्रेष्ठले पार्टीले जिल्लाको समृद्धि बनाउने अभिभारा नेकपाको काँधमा आएको बताउनुभयो । सांसद श्रेष्ठले भन्नुभयो,‘विकास निर्माणको लागि पार्टीले बनाउने योजना कार्यान्वयन गर्नु जनप्रतिनिधिको दायित्व र कर्तव्य हो ।’
सपथग्रहण कार्यक्रममा जिल्ला इन्चार्ज देवशकंर पौडेल, नेकपा रामेछापका सह–इन्चार्ज एवं तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, जिल्ला अध्यक्ष मैन कुमार मोक्तान, सचिव शान्ति पौडेल लगायतका नेताहरुको सहभागीता रहेको थियो ।