रामेछाप जिल्लामै पहिलो नमूना पेट्रोल पम्प सञ्चालन हुँदै
२३ माघ, रामेछाप ।
रामेछाप जिल्लामै पहिलो पटक नमूना पेट्रोल पम्प सञ्चालन हुने भएको छ । जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिका–१ भैसेश्वरमा निर्माण भएको पेट्रोल पम्प भोलीबाट सञ्चालनमा आउने भएको हो । रामेछाप जिल्लाभित्र अहिलेसम्म पेट्रोल पम्प सञ्चालनमा आउन सकेको थिएन । पेट्रोल पम्प नहुँदा सवारी साधन सञ्चालकहरुले चर्को मुल्य तितेर इन्धन भर्नुपर्ने बाँध्यता रहेको थियो ।
जिल्लावासीको माग अनुसार पहिलो पटक पेट्रोल पम्प स्थापना गरिएको श्री शुभ समृद्धि आयाल स्टोर प्रालिका सञ्चालक जीवन बुढाथोकीले रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार शुक्रवारबाट २४ सै घण्टा विक्री खुल्ला गरिनेछ । पाँच करोड लगानीमा नौ रोपनी क्षेत्रफलमा निर्माण गरिएको पेट्रोल पम्पमा आठ वटा नोजल रहेको छ ।
सञ्चालक बुढाथोकीले भन्नुभयो,‘अब इन्धन भर्नको लागि सिन्धुली र दोलखा जानु पर्दैन ।’ चार वटा पेट्रोल र चार वटा डिजलको नोजल रहेको पम्पमा ७२ हजार डिजेल र वीस हजार पेट्रोल रिर्जव गर्ने ट्याङकी रहेको बुढाथोकीले बताउनुभयो ।