निर्माण सुरु भएको दस बर्षपछि बन्यो रामेछाप–ओखलढुंगा जोडने पुल
१६ फागुन, रामेछाप ।
निर्माण सुरु भएको दस बर्षपछि रामेछाप–ओखलढुंगा जोडने पक्की पुल सञ्चालनमा आएको छ । ठेकेदारको लापवाहीको कारण अलपत्र परेको पुल जनप्रतिनिधिहरुको सक्रियतामा सञ्चालनमा आएको हो । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका र ओखलढुंगाको लिखु पिके गाउँपालिकाको सीमाना लिखु खोलाको शिरीषेमा निर्माण भएको पुलको उदघाटन भएको छ ।
ओखलढुंगाका प्रतिनिधिसभा सांसद यज्ञराज सुनुवारले पुलको उदघाटन गर्नुभयो । उहाँले पुल बनाउन नदिन विभिन्न तत्वहरुले भूमिका खेलेको आरोप लगाउदै ढिलै भएपनि पुल निर्माण गरेर सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो ।
पुलको ठेक्का २०६८ सालमा कन्काई ओमबुद्ध जेभीले लिएको थियो । ठेकेदारले ५ करोड ८६ लाख रुपैयाँमा तत्कालीन समयमा कामको जिम्मा लिएपनि कमिसनको चलखेलमा म्याद गुजारेको आरोप लाग्दै आएको थियो ।