अब कोरोना भाइरसका सम्भावित सङ्क्रमित काठमाडौँ आउनुु नपर्ने



११ चैत्र, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न अस्पतालमा भर्ना भएका सम्भावित सङ्क्रमित कोभिड–१९ को नमूना परीक्षणका लागि बिरामी काठमाडौँ आउने नपर्ने बताएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सम्भावित सङ्क्रमितलाई सम्बन्धित अस्पतालले व्यक्तिलाई आइसोलेसनमा राखेर सिफारिस नगरी कोभिड–१९ को नमूना परीक्षण गर्न मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिइएको बताउनुभयो ।

उहाँले हालसम्म कूल ६१० को नमूना परीक्षण भएकोमा दुईको कोभिड–१९ पोजेटिभ देखिएकामा एक जना उपचारपछि फर्किएको र हाल एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत भइरहेको जानकारी दिनुभयो । हाल सो अस्पतालमा १६ जना सङ्क्रमित भएको आशङ्कामा रहेकोमध्ये पाँच जना आइसोलेसन र १० जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रवक्ता डा देवकोटाले सम्भावित सङ्क्रमणको प्रक्षेपणको दायरालाई बढाउँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल र वीरअस्पतलामा चाँडै नै नमूना परीक्षणको प्रबन्ध गरिने जानकारी दिनुभयो । फ्रान्सबाट कतार हुँदै गतसाता काठमाडौं आएकी १९ वर्षीया एक युवतीमा कोभिड–१९ पोजेटिभ देखिएपछि उनका परिवारका सदस्यलाई पनि क्वारेन्टाइनमा राखिएको र उनीसँगै सवार व्यक्ति पनि सम्पर्कका आई क्वारेन्टाइनमा जाने क्रम शुरु भएको छ ।
यसैगरी मन्त्रालयको कलसेन्टरमा पाँच हजार २३१ ले सम्पर्क गरी कोभिड–१९ को बारेमा जानकारी लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्