पर्याप्त बिजुली छ, ग्यासको चिन्ता नलिइ इन्डक्सनमा खाना पकाउनुहोसः कुलमान घिसिङ
चैत्र १३, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले कोरोना भाइरसबाट नेपालीलाई बचाउन लकडाउन गरेको अवस्थामा ग्यासको चिन्ता नदिन आग्रह गर्नुभएको छ । उहाँले पर्याप्त बिजुली रहेकाले ग्यासको कुनै चिन्ता नगरी इन्डक्सन चुलोमा खाना पकाउन आग्रह गर्नुभएको हो ।
उद्योग तथा कलकारखाना, व्यापारिक क्षेत्र बन्द भएको, विकास निर्माण ठप्प भएको र जाडो सकिएको तर गर्मी पनि सुरु भइनसकेको अहिलेको अवस्थाले गर्दा विद्युत्को लोड ह्वातै घटेको हो,’ कार्यकारी निर्देशक घिसिङले रामेछाप न्युजसँग भन्नुभयो ‘लकडाउनको कारण घरायसी प्रयोजनका लागि ग्याँसको अभावमा भएमा इन्डक्सन चुलो लगायतका विद्युतीय उपकरण ढुक्कसँग चलाउनु होला, हामीसँग पर्याप्त विद्युत् उपलब्ध छ ।’
घिसिङले पानी, हावाहुरी, प्राविधिक लगायतका कारण कुनै स्थानमा केहीबेर विद्युत् अवरोध हुन सक्ने भए पनि त्यसको मर्मतसम्भार गरी तत्काल सेवा सुचारु गराउन लकडाउनको बेला पनि कर्मचारीहरु २४ सै घण्टा तयारी अवस्थामा रहेको बताउनुभयो ।
विद्युत्को माग घटेसँगै भारतबाट आयात हुने विद्युत्को परिणाम पनि घटेको छ भने कुलेखानी पनि चलाइएको छैन । घिसिङकाअनुसार, अहिले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट मात्रै पिक समयमा करिब १ सय ५० मेगावाटसम्म विद्युत् ल्याइएको छ भने बिहीबार बेलुकाबाट ५० मेगावाट मात्रै ल्याइने छ । उहाँले राति विद्युत्को लोड घटेकाले प्राधिकरणका विद्युत्गृह बन्द गर्नु पर्ने अवस्था रहेको बताउनुभयो । प्राधिकरणले आफ्ना स्वामित्वका, निजी क्षेत्रका विद्युत्गृहबाट उत्पादित विद्युत्बाट आपूर्ति गरिरहेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउन घोषणा भएसँगै विद्युत्को माग (लोड) पनि ह्वातै घटेको छ । बढी विद्युत् खपत गर्ने कलकारखाना,होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएपछि विद्युत्को माग ह्वातै घटेको हो । विद्युत् लोडमा मुख्य रुपमा कलकारखाना, होटललगायतको योगदान रहेको छ । घरायसी प्रयोजनका लागि मात्रै विद्युत्को प्रयोग भइरहेकाले अहिले विद्युत्को लोड घटेको हो ।
लकडाउन सुरु हुनुभन्दा पहिले मुलुकभरको विद्युत्को अधिकतम माग (पिक डिमाण्ड) १ हजार २ सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार घटेर ९ सय ४५ मेगावाटमा सीमित भएको छ । पिक डिमाण्ड साँझ ७ बजे रेकर्ड गरिएको हो । मंगलबार राति विद्युत्को माग ४ सय ८३ मेगावाटसम्म झरेको छ । बुधबार बिहान विद्युत्को माग अझै घटेर ४ सय ४६ मेगावाटसम्म पुगेको छ । मध्यान्ह १२ बजेको डिमाण्ड ६ सय २८ मेगावाट छ ।
विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकाको विद्युत्को माग पनि ह्वातै घटेको छ । लकडाउनभन्दा पहिले विद्युत्को अधिकतम माग साढे तीन सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार मुलुकभरको माग ९ सय ४५ मेगावाट हुँदा काठमाडौं उपत्यकाको २ सय ९० मेगावाटमा सीमित भएको छ । काठमाडौं उपत्यकामा मंगलबार विहान विद्युत्को माग १ सय ३ मेगावाट र राति १ सय १७ मेगावाट रेकर्ड गरिएको छ । बुधबार बिहान काठमाडौं उपत्यकाको विद्युत्को माग १ सय ४ मेगावाट मध्यान्ह १२ बजे १ सय ८२ मेगावाट पुगेको छ ।