बागमती प्रदेश सरकारद्धारा ५० करोडको कोरोना उपचार कोष स्थापना
१७ चैत्र, हेटौडा ।
बागमती प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५० करोडको उपचार कोष बनाउने निर्णय गरेको छ । बागमती प्रदेश मन्त्रिपरिषदको सोमबार हेटौडामा बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ४० करोड रुपैया थप्ने निर्णय गर्दै पचास करोडको कोष स्थापना गरेको हो ।
बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशका प्रत्यक्ष निर्वाचन तर्फका ६६ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यकोको संयोजकत्वमा समानुपातिक सदस्य,स्थानीय तहका जनप्रतिनिधि,राजनीति दलको प्रतिनिधित्व गराइने अनुगमन समिति बनाउने निर्णय गरेको बताउनुभो ।
उहाका अनुसार जिल्ला विपद व्यवस्थापन समितिलाई पाँच लाख रुपैया पनि सोही कोषबाट उपलब्ध गराउने निर्णय गरिएको छ । सो रकम कोरोना संक्रमण रोकथाम एवं उपचार,आइसोलेसन तथा क्वारेन्टाइन निर्माण,मेडिकल सामग्री खरिद, बिपन्न परिवारलाई राहतका लागि स्थानीय सरकारले खर्च गर्न सक्नेछन् ।
बामगमती प्रदेशले कोभिड १९ को पहिचान रोकथाम,परिक्षण तथा उपचारका लागि १३ वटै जिल्लालाई तयारी अवस्थामा राखेको छ । बागमती प्रदेशमा काठमाडौ बाहेकका जिल्लामा सोमबारसम्म ५४० वटा आइसोलेसन वेड तयार भएको मन्त्री ढुंगेलले बताउनुभयो ।
उहाँका अनुसार रसुवामा ३५, नुवाकोटमा ९, धादिङमा ३८, दोलखामा ४८, सिन्धुलीमा २३, सिन्धुपाल्चोकमा १७, काभ्रेमा २१, चितवनमा ११३, मकवानपुरमा ६, ललितपुरमा १४६ रामेछापमा ४८ र भक्तपुरमा २५ गरी ५४० आइसोलेसन वेड तयार भएको छ । ती जिल्लामा ८१ व्टा अस्पताल रहेका छन् ।