रामेछापमा नक्कली बिरामी भन्दै यात्रु बोक्ने एम्बुलेन्स चालक प्रहरी नियन्त्रणमा



२४ चैत्र, रामेछाप ।
निर्माण व्यवसायी एवं नेपाली कांग्रेस रामेछापमा महासमिति सदस्य पूर्ण बहादुर तामाङ ‘कान्छारामले गोकुलंगा गाउँपालिका–६ फर्पुको लागि उपलब्ध गराएको एम्बुलन्सले नक्कली बिरामी बनाई यात्रु बोकेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले चेकजाँच गर्ने क्रममा नक्कली बिरामी सहित छ जना यात्रु रहेको थाहा पाएपछि चालक सहित एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।
प्रदेश नम्बर–३ ०–२२–०१ च २१६३ नम्बरको एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । आइतवार काठमाडौंबाट नक्कली यात्रु बनाई यात्रु सहित रामेछाप प्रवेश गर्ने क्रममा सेलघाटमा प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो । सेलेघाट प्रहरीले नक्कली बिरामी बनाई यात्रु बोकेको खबर गरे लगत्तै मन्थलीबाट प्रहरीले नक्कली बिरामी र यात्रु सहित एम्बुलेन्स नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले रामेछाप न्युजसँग भन्नुभयो,‘नक्कली बिरामी बनाएर यात्रु बोक्ने चालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं ।’ उहाँका अनुसार एम्बुलेन्स चालक बुद्ध तामाङ रहेका छन् । एम्बुलेन्स चाकलहरुले ज्वरो आएको बिरामी नबोक्ने घोषणा गरेपनि यात्रुहरु बाेक्ने गरेकाे रहस्य खुलेकाे छ । प्रहरीले नियन्त्रणमा लिएको एम्बुलेन्स कान्छाराम तामाङले निशुल्क रुपमा उपलब्ध गराउनुभएको थियो । उक्त एम्बुलेन्स हाल वडा कार्यालय फर्पुले सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्