टेकु अस्पतालबाट केही दिनमा डिस्चार्ज हुँदै कोभिड संक्रमित
२९ चैत्र, काठमाडौं ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई संक्रमित डिस्चार्ज हुने भएका छन् । संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको छ । अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले दुवै जनाको दुई दिनभित्र अन्तिम रिपोर्ट आउने बताउदै त्यो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गरिने जानकारी दिनुभयो । टेकु अस्पतालमा अहिले कोभिड शङ्कास्पद नौ जनाको उपचार भइरहेकाकोमा दुई जनामा कोभिड पोजेटिभ देखिएको छ भने बाँकी सात जनाको नेगेटिभ छ ।
कोरोनाको सङ्क्रमण देखिएपछि नेपालमा पहिलोपटक टेकु अस्पतालमा भर्ना भएका बिरामी उपचारपछि निको भएर घर फर्किन लागेका छन् । यसअघि नेपालमा पहिलोपटक कोभिडको सङ्क्रमण फेला परेका एक नेपाली उपचारपछि घर फर्किसकेका छन् । नेपालमा दोस्रोपटक गत चैत १० गते १९ वर्षीया युवतीमा कोभिडको सङ्क्रमण देखापरेको थियो ।
नेपालमा हालसम्म नौ जनामा कोभिडको सङ्क्रम देखिए पनि एक जना उपचारपछि घर फर्किसकेका छन् । नेपालमा दोस्रोपटक गत चैत १० गते कोभिडको नयाँ सङ्क्रमित फेला परेको थियो । चैत ४ गते कतार एयरवेजको जहाजमार्फत फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ पोजेटिभ देखिएको थियो ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्ममा तीन हजार ५२४ व्यक्तिको कोरोना सङ्क्रमणको नमूना परीक्षण गरिएको छ । हिजो मात्रै ६३० परीक्षण गरिएको थियो । आठ सय बढी परीक्षणको क्रममा छ । हाल नेपालभरि आठ हजार ६६० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनमा रहेका व्यक्तिको संख्या ा १२५ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।