अपडेटः रामेछापको सल्लेपाखा जंगलमा लागेको आगो नियन्त्रण बाहिर
२९ चैत्र, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका–११ गेलुस्थित बर्लापाखा सल्लेपानी जंगलमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । स्थानीयले निभाउनको लागि धेरै कोशिस गरेपछि आगो झन वडा नम्बर १२ तर्फको जंगलतर्फ फैलिएको छ । शुक्रवार दिउसोबाट लागेको आगो नियन्त्रण बाहिर गएपछि स्थानीय चिन्तित बनेका छन् ।
मन्थली नगरपालिका–१२ का वडा अध्यक्ष कृष्णहरि अधिकारीले डडेलो नियन्त्रण बाहिर गएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘डडेलोले विशाल रुप लिदैछ, गाउँलेको प्रयासले मात्र सम्भव छैन, अहिलेसम्म बस्तीलाई भने जोखिम परेको छैन् ।’ हावा चलेसँगै डाँडामा तीब्र गतिको साथ डडेलो फैलिएको बताउदै उहाँले करिब छ हेक्टर भन्दा बढी जंगल डडेलोले सखाप पारेको बताउनुभयो ।
सल्ला र सालको जंगलमा आगो लगाउने व्यत्तिको खोजी भइरहेको स्थानीय मान बहादुर थापामगरले बताउनुभयो । उहाँले भन्नुभयो,‘बस्तु चराउने, घास दाउरा ल्याउने जंगल हेर्दाहेदै उडान भो निकै दुःख लागेको छ ।’