थप दुईमा कोरोना सङ्क्रमण भएको पुष्टि, नेपालमा संंक्रमितको संख्या १४ पुग्यो
१ वैशाक, काठमाडौं ।
नेपालमा कोभिड –१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलालीको लम्की र रौतहटमा एक एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
यससँगै नेपालमा १४ जना कोरोना सङ्क्रमित भएको पाइएको छ । उनीहरु दुवै भारतबाट आएको बताउदै देवकोटाले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुलाई सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।
सङ्क्रमितमध्ये रौतहटका १९ वर्षीय पुरुष तथा लम्कीकी ६५ वर्षीया महिला रहेका छन् । ती महिला भने लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकी छन् । अहिलेसम्म कैलालीमा छ, बागलुङ र काठमाडौँमा दुई दुई तथा रौतहटमा एक र पर्सामा तीन कोरोना सङ्क्रमित फेला परेका छन् ।