कोरोना कहर पछिको रामेछापको विकासका सम्भावनाहरु
नेपालका साथै विश्व जगत अहिले कोरोना भाइरसले सृजना गरेको महामारीलाई नियन्त्रण गर्न युद्धस्तरमा लागि रहेको बेला यो महामारीले उजागर गर्न सक्ने नयाँ परिस्थिति र विकासका सम्भावनाहरु पनि बढेर गएका छन् । यो महामारीको अन्त्य सम्ममा विश्व अर्थतन्त्रमा ठुलै क्षति पुग्न सक्ने आंकलन गरिएको छ जसको कारण विस्व श्रम बजार र बहुउदेश्य व्यापारमा ठुलो धक्का पुग्ने छ । हालसम्म बिशेषगरि औद्योगिक तथा बिकसित देशहरुले धेरै मानविय र आर्थिक क्षति बेहोरेको अबस्था छ ।
पहिले देखि नै आर्थिक रुपमा पराधिन बनाइएका नेपाल जस्ता साना देशहरुलाई पनि तात्कालिन रुपमा आर्थिक कठिनाइहरु देखा पर्ने छन्, ठुला लगानीका अवसरहरु गुम्न सक्ने छन । तर स्वाभलम्बी अर्थतन्त्र निर्माण गरि आफ्नो खुट्टामा आफै उभिन सक्ने नँया आर्थिक अवसर पनि यो महामारीले उपलब्ध गराउने सम्भाबना छ ।
यो दुखलाई अवसरको रुपमा प्रयोग गरि लामो समयदेखि पराधीन अर्थतन्त्रको शिकार भएको रामेछापले आत्मनिर्भर उन्मुख आर्थिक उपार्जन गर्ने खाका तयार गरि एउटा नँया अवसर सृजना गर्न सक्ने आधारहरु देखा परेका छन् । केन्द्र र प्रदेश सरकारहरुसँग सहकार्य गर्दै स्थानीय तहरुले आत्मनिर्भर आर्थिक गतिबिधिहरु बिशेष गरि खाद्यान्न, साना उद्योगहरु र प्राबिधिक शिक्षा वृद्धि गर्ने खाका निर्माण गर्नु अहिलेको प्राथमिकता हो । यी तीन ओटा कुराले जिल्लाको परनिर्भरतालाइ अन्त्य गर्न सक्छ । कोरोना कहरले खडा गरेको परिस्थितिले यी कुराहरु प्राप्त गर्न सक्ने अबस्था पनि बनाइदिएको छ ।
रामेछाप जिल्लाले इतिहासमा धेरै खाले महामारी भोगेको छ । सुख्खा, अनिकाल, बाढी पहिरो, उपचारको अभाब, खानेपानीको अभाब, डांडाकाँडामा बढ्दो सुख्खा क्षेत्र आदि कुराहरु रामेछापले बारम्बार बेहोरेको महामारीका उदाहरण हुन् । जलवायु परिबर्तनका कारण रामेछापको दक्षिणी भेगका अधिकांश गाउँहरु सुख्खा क्षेत्रमा परिणत भएका छन् भने डोजरले जथाभावि भत्काएका सडकहरु, हाइड्रो कम्पनीहरुले भत्काएका खोलाहरुका कारण उत्तरी क्षेत्र बाढी ग्रस्त छ ।
शहर केन्द्रित जीवनयापनप्रतिको बढ्दो रुचि र कृषि भन्दा फरक खाले रोजगारीलाई समाजले प्रस्रय दिएका कारण अधिकांश युवा पुस्ताका व्यक्तिहरु गाउँ छाडेर अन्यत्र जाने क्रम बढ्दो छ । जसका कारण गाउँको जनसंख्या ब्यापक रुपमा घट्यो फलस्वरूप गाउँका राजनीतिक, सामाजिक, आर्थिक, संस्कृति संरचनाहरु भत्किने अवस्थामा पुगे । कतिपय स्कुलहरु बन्द हुने अबस्थामा पुगे भने गाउँहरुले शुन्यता महसुश गर्न थाले । यी संरचनाहरु भत्किने क्रमले समाजमा नैरास्यता मात्रै सृजना गरेन, यो अवस्थाले सबैलाई पराधिनतातर्फ उन्मुख गरि दियो । यी सबै कुरा हाम्रा लागि एकखाले महामारी नै हुन् ।
यी सबै चिजको एकमुष्ठ असर नै रामेछापमा ब्याप्त खाद्यान्न अभाब अथवा खाद्य परनिर्भरता नै हो । जिल्लाका ६४ ओटा वडाहरुमा एउटा वडा पनि खाद्यान्नमा आत्मनिर्भर छैन । युवा पुस्ता कृषिबाट पलायन भएको र कृषिलाइ जीवनयापनको मुख्य आधारको रुपमा प्रोत्साहन नगरिएको कारण खोला किनारका खेतहरु बाहेक पहिला खेती हुँदै आएका बारीहरु मध्ये झन्डै ७०५ बाँझो छन् अथवा कहिलेकाही मात्रै खेति लगाइन्छ । गाउँमा गाई भैसी पाल्ने चलन ह्वात्तै घटेर गयो । जसको कारण दुध, मासु जस्ता कुरामा मात्रै पराधिनता बढेन यसले खेत बारीमा हाल्ने प्रांगारिक मलको कमि हुन गई उत्पादनशिलतामा ठुलो कमि आएको छ ।
खेत बारीहरु रुखो हुदै गएका छन् । गाउँको आम्दानीको साथै बाहिरी रोजगारीमा गएकाहरुले पठाएको पैसा समेत सबै खाद्यान्नको लागि जिल्लाबाट बाहिरिने गरेको छ । धेरै लामो समय देखिको यो समस्या झन् कहाली लाग्दो तरिकाले बढेर गएको छ ।
अर्को तर्फ हालसम्मका सबै खाले विकास बजेटहरु सडक निर्माण र अन्य भौतिक संरचना तिर केन्द्रित भए । यो हुनु स्वाभाविक पनि थियो । सडक संजालबाट लामो समयसम्म टाढा रहनु परेको पीडा र भौगोलिक विकटताका कारण सडकलाई प्राथमिकता दिनु रामेछापको बाँध्यता थियो । तर हाल प्रायः हरेक गाउँमा सडक पुगेको छ । टोलटोलमा पुगेको छ । ब्यबस्थित गर्ने र राम्रो बनाउने काम बाँकी छन् । तर अब थप नयाँ सडकहरु निर्माण गर्ने कुरा प्राथमिकतामा राखी रहनु पर्ने अवस्था छैन ।
यो बिस्तार भएको सडक संजालले हिंडडुल गर्न सहज बनायो, तर अन्य आर्थिक गतिबिधिमा लगानी नगरेका कारण सडक विस्तारले त्यतिकै मात्रामा आर्थिक पराधिनता पनि बढायो । सहज अबस्थामा जिल्लामा झन्डै सरदार दुई सय वटा ट्रक हरेक दिन भित्रिन्छन र अधिकांशले खाद्यान्न बोकेर जिल्लामा आउछन । जिल्लाबाट बाहिर पठाउने केही नै छैन, सबै ट्रकहरु खाली फर्किन्छन । जसले गर्दा सडक लगायतका संरचना विस्तारले आर्थिक गतिबिधिहरु बढेर बाहिरको आम्दानी जिल्ला भित्र प्रवेश गरेको छैन । जिल्ला भित्रको आम्दानी केही बजारहरु बिसेश गरि मन्थलीमा केन्द्रित त भयो तर समग्र आर्थिक उपार्जन हुन सकेन ।
कोरोना कहरले भने नयाँ परिस्थिति सृजना गरिदिएको छ । महामारीको त अन्त्य होला तर यो महामारीले देखाएको नया बाटो भने सजिलै परिबर्तन हुने वाला छैन । रामेछापलाई असर गर्ने दुइ ओटा कुरा मुख्य छन् । पहिलो, रामेछापमा बाहिरबाट आउने बिशेषगरी भारतबाट आउने खाद्यान्नमा ठुलो कटौती हुनेछ । महामारीको बेला त खाद्यान्न निर्यातमा भारतले रोक नै लगाएको छ ।तर यो पछि झन् रोकिने अथवा ब्यापक मूल्य वृद्धि हुने संकेतहरु देखिएका छन् ।
भारतको उत्तरी क्षेत्रमा जनसंख्याको घनत्व बढ्दो दरमा छ । ती ठाउँहरु सुख्खाग्रस्त हुदै छन् । यता नेपालको तराई क्षेत्रमा खाद्यान्न उत्पादन मा ब्यापक कमि आएको छ । बढ्दो शहरीकरण, चुरे क्षेत्रको बिनाश, सिंचाइको अभाब, कृषिमा घट्दो रुचि, प्रांगारिक मलको अभाब, युवा शक्तिको पलायन लगायतका विभिन्न कारणले तराइको खाद्यान उत्पादनमा बर्षेनी कमि हुदै गएको छ । गत साल झन्डै डेढ खर्ब रुपैया बराबरको खाद्यान्न आयात गरेको नेपालले यो बर्ष झन्डै दुइ खर्बको आयात गर्ने अनुमान गरिएको थियो । रामेछापको खाद्यान्न आयात गर्ने दर पनि तेही अनुपातमा बढेको छ ।
दोस्रो, कोरोन कहरका कारण ठुलो मात्रामा गाउँबाट बाहिरिएका युवाहरु गाउँ फर्किने क्रम बढ्ने छ । अहिले नै काठमाडौँ लगायत अन्य शहरहरुबाट ठुलो संख्यामा युवा शक्ति गाउँ भित्री सकेको अवस्था छ । गाउँका लागि यो अवस्था सकारात्मक हुन्छ । रामेछाप जिल्लामा बैदेशिक रोजगारीका लागि जाने संख्या ठुलो छ ।
नेपाल बाट झन्डै ४५ लाख युवाहरु बैदेशिक रोजगारीमा गएका छन् ती मध्ये झन्डै २५ लाख जति आउदो ६ महिना सम्ममा नेपाल फर्किन सक्ने अनुमान छ । दिर्घकालिन हिसाबले देशका लागि यो अत्यन्त राम्रो कुरा हो । रामेछापमा मात्रै सरदर दस हजार जति फर्कन सक्ने अनुमान गर्न सकिन्छ, सबै गाउँमै गएर नबस्लान तर अधिकांश फर्किने ठाउँ गाउँ नै हो । यो जनशक्तिलाई सही ढंगले परिचालन गर्न सके जिल्लामा ठूलै आर्थिक गतिबिधिहरु सुरुवात गर्न सकिन्छ । कोरोनाले ल्याएको यो सकारात्मक परिबर्तन भन्ने बुझ्नु राम्रो हुन्छ ।
यो परिवेशमा रामेछाप जिल्लाका आठ वटा स्थानीय तहरुले सोही अनुसार आफ्ना कार्यक्रमहरु परिमार्जित र व्यबस्थि गर्दै जानु उपयुक्त हुन्छ । अहिले महामारीबाट जनतालाई जोगाउन पालिकाहरुले अत्यन्त कुशलताका साथ् काम गरेको देखिन्छ । पालिकाहरुले चाहेमा कठिन कामहरु पनि गर्न सक्छन भन्ने कुरा देश भरिका पालिकाहरुले यो चोटी प्रमाणित गरि दिएका छन् । येही जाँगरलाइ प्रयोग गर्दै महामारी पछिको रामेछापको स्वाभलम्बि अर्थतन्त्र निर्माण गर्नका लागि कम्तिमा तीन वटा कामहरु तत्कालै अघि बढाउनु अहिलेको अवस्थामा बढी सान्दर्भिक हुन्छ ।
पहिलो–हरेक पालिकाले ’आफ्नो खाद्यान्न आफै उत्पादन गरौँ’ भन्ने नाराका साथ कृषि क्षेत्रमा ब्यापक उत्पादकत्व बढाउने र बाँझो खेत बारी नराख्ने योजना निर्माण गर्ने हिसाबले अघि बढ्नु पर्छ । सिंचाईलाइ प्राथमिकतामा राख्नै पर्छ । तर कम सिंचाई हुँदा अथवा सुख्खा ठाउमा उत्पादन हुने बालीलाई प्रश्रय दिनु अनिबार्य छ ।
हरेक वडामा कृषि उत्पादनको हालको अवस्था र बार्षिक खाद्यान्नको आवश्यकताको लागत लाख्ने पद्धतीको सुरुवात गर्नु पर्छ । प्रोत्साहन गर्नका लागि गरिब किसानहरुलाइ केही आर्थिक अनुदान दिनुपर्छ । टोल टोलमा हल गोरु किनी दिने, सम्भावित ठाउँमा ट्याक्टरको व्यवस्था गरि दिने, बिउ बिजनहरुको साना पसलहरु खोल्न सहयोग गर्ने, कृषि मजदुरहरुलाई उचित ज्याला पाउने व्यवस्था गर्ने र यी कुराहरु टोल टोलमा कृषि सहकारी निर्माण गरि सबै किसानले सुविधा पाउने गरि व्यवस्था गर्न सकिन्छ । रामेछापका हरेक पालिकाले यो क्षेत्रमा ठुलो लगानी गरुन भन्ने आग्रह छ ।
दोस्रो, हरेक पालिका र वडाले साना उद्योगहरु संचालन गर्ने बाताबरणको निर्माण गर्नु पर्छ । आफ्नो पालिकामा कस्ता र कति उद्योगहरु संचालन गर्न सकिन्छ भन्ने आंकडा निकालेर हरेक बर्ष कम्तिमा दस जना भन्दा बढीलाइ रोजगारी दिन सक्ने पचास ओटा उद्योगहरु निर्माण गर्ने लक्ष्य लिएर पालिकाहरु अघि बढ्ने हो भने बाहिरबाट आएका युवाहरुलाई उद्योगीको रुपमा स्थापित गराउन सकिन्छ र हरेक बर्ष श्रम बजारमा आउने नया पुस्तालाइ रोजगारी सृजना गर्न सकिन्छ ।
यो अनिबार्य भै सकेको छ, ढिलो गर्नु झन् आत्मघाती हुनेछ । कृषिमा आधारित तरकारी, फलफुल, पशुपालन, माछा पालन, लगायत काठ, जडिबुटी, पर्यटन, होटेलका साथै अन्य औधोगिक उत्पादन गर्ने साना उघ्योगहरु थोरै लगानीमा गर्न सकिन्छ । यस्ता उद्योगहरुलाई अनुदान सहयोग गर्ने र प्राबिधिक परामर्श उपलब्ध गराउने हो भने पालिकाहरु आर्थिक हिसाबले चलायमान हुन्छन । जिल्ला मै खपत हुने बस्तुहरुको उत्पादनलाइ प्राथमिकता दियो भने बजार ब्यबस्थापनलाइ सजिलो पर्छ ।
तेस्रो, हरेक पालिकामा बर्षमा कम्तिमा पाँच सय जनालाई दक्ष बनाउन सक्ने गरि प्राबिधिक स्कुलहरुको स्थापना हुनु पर्छ । बाहिरबाट आएका युवाहरुलाइ तत्कालिन हिसाबमा प्राथमिकताका साथ यस्ता स्कुलहरुबाट तालिम दिएर शिपमुलक तथा उद्यम संचालन सम्बधि बिशेष ज्ञान दिने हिसाबले यस्ता स्कुलहरु चलाइनु पर्छ ।
अहिले भै रहेका कुनै स्कुलका भबनहरुलाई प्रयोग गरेर प्राबिधिक स्कुल संचालन गर्न सकिन्छ । भुकम्पपछि स्थानीयस्तर मै सिकर्मी र डकर्मीको तालिम दिएका कारण धेरैले पछिसम्म फाइदा लिएका थिए । त्यही मोडेल जस्तै गरि उद्योगी र शिप भएका प्राबिधिक उत्पादन गर्ने उदेश्यका साथ यस्ता स्कुलहरु तत्कालै थालनी हुनु पर्छ । जिल्लामा यसले नयाँ माहोल ल्याउछ र ग्रामिण औधोगीकरण गर्न मद्धत गर्दछ ।
पालिकाहरु व्यवस्थ्ति हुदै छन् सिक्ने क्रम मै छन् । तर कोरोना कहरले सृजना गरेको अहिलेको अबस्थामा यी कामहरु गर्न सके जिल्लामा कायापलट हुनेछ र खास समृद्धिको आधार तयार हुनेछ ।