दुई दिनमा रामेछापमा ६ हजार भन्दा बढी नागरिक भित्रिए
११ वैशाक, रामेछाप ।
लकडाउनको कारण काठमार्डौमा अलपत्र परेका रामेछापका करिब ६ हजार नागरिकहरु गाउँ फर्किएका छन् । स्थानीय तहको सक्रियताको कारण काठमाडौमा ज्याला मजदुरी गरेर जीविका चलाउनै मुस्किल भएका नागरिहरु जिल्ला फर्किएका हुन् ।
रामेछापको आठ वटै स्थानीय तहले अलपत्र आफ्ना नागरिकहरु फर्काउन सक्रियता देखाएका थिए । कतिपय स्थानीय तहले निशुल्क रुपमा बसको व्यवस्था गरेर आफ्ना नागरिक ल्याएका छन भने कतिपयले शुल्क लिएर बसको व्यवस्था गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुइ दिनको अवधिमा करिब ६ हजार भन्दा बढी मानिसहरु भित्रिएका छ्न । लकडाउन घोषणा गरेको एक महिना पुग्दा समेत लम्बिने सकेत पाएपछि अलपत्र परेका नागरिकहरु धमाधम पैदल हिडेरै जिल्ला फर्कने क्रम बढेपछि प्रशासन र प्रहरीसँग समन्वय गरेर गाउँपालिका ल्याउने काम अगाडि बढाइएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बताउनुभयो ।
अलपत्र परेका आफ्ना नागरिकहरु लिनको लागि स्थानीय तहका प्रमुख नै काठमाडौ गएका थिए । जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुको सक्रियतमा काठमाडौमा अलपत्र परेका नागरिकहरु जिल्ला आउन सकेका छन् । गाउँ फर्किएका नागरिकहरुलाई अनिवार्य रुपमा १५ दिन होम क्वारेन्टाइनमा राख्न स्थानीय तहले निर्देशन दिएका छन् । दुई दिनको अवधिमा साना ठूला गरेर दुई सय भन्दा बढी सवारी साधन जिल्ला भित्रिएका छन् ।