लकडाउनले रामेछाप जिल्लामा रक्सी खाएर झगडा गर्ने बढे



२६ वैशाख, रामेछाप ।
लकडाउनको कारण उपत्यका काठमाडौमा पेशा व्यवसाय र मजदुरी गर्ने अधिकांश रामेछापवासी गाउँ फर्किएका छन् । गाउँ फर्किएका केही युवाहरु खोलामा माछा मार्ने, तास खेल्ने कामलाई नै पेशा बनाएपछि प्रहरीलाई सास्ती भएको छ । लकडाउन जारी भएको डेढ महिनाको अवधिमा रामेछापमा जाड रक्सी खाएर झगडा गर्नेहरुको संख्या बढेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

लकडाउन कार्यान्वयन गर्न रातदिन खटिदै आएको प्रहरीलाई नै सास्ती दिने गरी दैनिक रक्सी खाएर कुटपिट गरेका उजुरी आउन गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले रामेछाप न्युजलाई बताउनुभयो । ‘जाँड रक्सी खाएर झगडा भएर प्रहरीलाई उजुरी दिने क्रम बढेको छ’,उहाँले भन्नुभयो,‘रातदिन लकडाउनको प्रभावकारी कार्यान्वयनमा खटिएको प्रहरीलाई अनावश्यक झगडा गरेर सास्ती दिने काम भएको छ ।’

स्थानीय तहले लकडाउनको अवधिमा अनावश्यक रुपमा हिडडुल नगर्न, जाँड रक्सी सेवन नगर्न, जुवा तास नखेल्ने, भोजभतेर नगर्न, खोलामा माछा नमार्न आग्रह गरेपनि नागरिकहरुले अटेर गर्दै आएको गुनासो स्थानीय तहका जनप्रतिनिधिहरुको छ । ‘हामीले कोरोना भाइरसको सम्भावित संक्रमणको खतरा नहोस भनेर घर परिवारमै रहेर आफ्नो खेतीपाती गर्न आग्रह गरेका छौ,’ सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा भन्नुहुन्छ,‘हामीले गरेको आग्रहलाई वेवास्था गर्दै जुवातास खेल्ने र जाड रक्सी खाएर अनावश्यक झगडा गर्नु गलत हो ।’
प्रहरी प्रमुख पाठकका अनुसार डेढ महिनाको अवधिमा मात्र एक दर्जन भन्दा बढी जाँड रक्सी खाएर झगडा गरेको उजुरी प्रहरीमा आएको छ । उहाँले भन्नुभयो,‘यो संकटको बेला झैझगडा गर्ने समय होइन, सके राज्यलाई सहयोग गर्ने हो, नसके नागरिकहरुले असहयोग गरिदिनु भएन ।’ रामेछापको मन्थली नगरपालिका, दोरम्बा गाउँपालिका, सुनापती गाउँपालिकामा जाँड रक्सी खाएर झगडा बढेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्