अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द



३० वैशाख, काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।

गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीलेका अनुसार बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो । यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ । यो निर्णय कार्यान्वयनमा आएपछि रामेछापबाट जारी भएको पासले अब अन्य जिल्लामा प्रवेश गर्न पाइने छैन् ।

प्रतिक्रिया दिनुहोस्