ट्रकमा लुकेर रामेछाप प्रवेश गर्न खोज्ने चार जनालाई सेलेघाट नाकाबाट फर्काइयो
३ जेठ, रामेछाप ।
लकडाउनलाई कडाई गरेसँगै जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाको सीमा नाकामा चेकजाँच कडाई पारेको छ । प्रहरीले जिल्लाभित्र सम्भावित कोरोना संक्रमण फैलिन नदिन पैदल हिडेर आएकाहरुमाथि निगरानी बढाएको हो ।
राजधानी काठमाडौं र तराईबाट जिल्ला प्रवेश गर्ने मुख्य तीन नाका सेलेघाट, सित्खा र खैरेनीमा अत्वश्यक सवारी साधन र पैदल यात्रीमाथि समेत निगरानी बढाउदै शंकास्पद व्यक्तिलाई फर्काउने काम सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले ट्रकमा लुकेर जिल्ला प्रवेश गर्न खोज्ने तराईका चार जना व्यक्तिहरुलाई सेलेघाट नाकाबाट फिर्ता पठाइएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘नाकामा हामीले चेकजाँच कडा बनाएका छौ, तीन दिनको अवधिमा प्रहरीको आँखा छलेर जिल्ला प्रवेश गर्न खोज्ने चार जनालाई फर्काएका छौं ।’ पाठकका अनुसार रामेछापमा व्यवसायी गरेर बसेका तराई क्षेत्रका व्यक्तिहरुलाई फर्काइएको हो ।
प्रमुख पाठकले अत्यावश्यक सवारी साधनमाथि समेत चेकजाँचमा कडाई गरिएको बताउदै सबै सीमा नाकामा निगरानी बढाइएको बताउनुभयो । सरकारको पछिल्लो निर्णयको कारण जिल्ला भित्र्ने सवारी साधनको संख्या निकै न्युन रहेको उहाँले जानकारी दिनुभयो ।