काठमाडौं, भक्तपुर र ललितपुरका सबै नाका सिल गर्ने सरकारको निर्णय



८ जेठ, काठमाडौं ।
उपत्यकाभित्र कोरोनाभाइरसको जोखिम बढेको भन्दै गृह मन्त्रालयले काठमाडौ, ललितपुर र भक्तपुरका सबै नाका बन्द गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले निर्णयसहित स्थानीय सरकारलाई समेत परिपत्र गरेको हो ।
गृह मन्त्रालयले उपत्यकाभित्रका स्थानीय तहहरूलाई पठाएको छ बुँदे परिपत्रमा अत्यावश्यक कामबाहेक उपत्यका प्रवेशमा रोक लगाउने उल्लेख छ। कोरोनाको जोखिम देखिँदा अत्यावश्यक काममा बाहेक उपत्यका प्रवेश निषेध गर्ने र आगागमनको स्रोतमै रोक्ने गृहमन्त्रालयले पठाऐको परिपत्रमा भनिएको छ ।

यस्तै उपत्यका प्रवेशका सबै नाका अत्यावश्यक प्रयोजनबाहेक पूर्णरूपमा सिल गर्ने गृहको निर्णय छ। ‘सबै नाका अत्यावश्यक प्रयोजनबाहेक पूर्ण रूपमा सिल गर्ने,लुकीछिपी हुने प्रवेशहरू पूर्ण रूपमा रोक लगाउने,’ गृहले स्थानीय तहलाई पठाएको परिपत्रको दोस्रो बुँदामा भनिएको छ। यस्तै उपत्यकाभित्र प्रवेश गर्न परे आफ्नै खर्चमा आरडिटी परीक्षण गरी रिपोर्ट देखाउनु पर्नेछ।

‘उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेशपूर्व नै आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडिटी परीक्षण गरी सोको रिपोर्टसाथ काठमाडौं उपत्यका प्रवेश अनुमतिका लागि माग गर्ने,’ गृहको परिपत्रमा भनिएको छ। लुकीछिपी प्रवेश गरेकालाई खोजी गरी कारबाही गर्न पनि गृहले स्थानीय तहलाई आग्रह गरेको छ।

गत जेठ १ गते गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको बैठकमा सहभागी उपत्यकाभित्रका मेयरहरूले नाका कडाइ गर्न माग गरेका थिए। पछिल्लो समय काठमाडौं उपत्यकामा भेटिएका कोरोनाभाइरस संक्रमितमध्ये अधिकांश बाहिरबाट आएकाहरू छन्।

प्रतिक्रिया दिनुहोस्