रामेछापकाे लिखु तामाकोसी गाउँपालिकामा फेरि एम्बुलेन्स काण्ड



८ जेठ, रामेछाप ।
रामेछापको लिखु तामाकोसी गाउँपालिकामा फेरि विवाद बढेको छ । गाउँपालिकाले खरिद गरेर निशुल्क रुपमा सञ्चालनमा ल्याएको एम्बुलेन्स सञ्चालनको विषयलाई लिएर विवाद भएको हो । एम्बुलेन्स खरिद भएको दुइ बर्ष वितिसक्दा समेत गाउँ कार्यपालिकाबाट कार्यविधि बिना नै सञ्चालन गदै अाएकाे छ ।  कार्यविधि नहुँदा निशुल्क रुपमा सञ्चालन भइरहेको एम्बुलेन्सका चालकहरुले जनप्रतिनिधिहरुले समेत भनेको टेर्न छोडेको बताइएको छ ।
लकडाउनको कारण उत्पन्न परिस्थिति र विकास निर्माणका योजना सञ्चालन गर्ने विषयमा योजना बनान बसेको लिखु तामाकोसी गाउँ कार्यपालिकाको बैठकमा कार्यपालिकाका सदस्यहरुले एम्बुलेन्स सञ्चालन गर्न कार्यविधि पारित गर्नुपर्ने विषयमा प्रश्न उठाएपछि विवाद भएको हो ।
बैठकको सुरुवातमै लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीका वडा अध्यक्ष शिव प्रसाद न्यौपानले गाउँपालिको खरिद गरेर निशुल्क रुपमा सञ्चालनमा आएको एम्बुलेन्स सञ्चालनमा वेथिति भएको भन्दै कार्यविधि बनाउन माग गर्नुभएको थियो । तर गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काले उक्त प्रस्ताव अस्वीकार गर्दै कुनै पनि हालतमा आफूले एम्बुलेन्स सञ्चालक समितिको अध्यक्ष नछोडने अडान लिएका थिए ।
वडा अध्यक्ष न्यौपानेको प्रस्तावको पक्षमा बहुमत कार्यसमितिका सदस्यहरुले समर्थन गरेका थिए । बैठकमा चर्काचर्की बढदै गएपछि अध्यक्ष खड्काले कार्यपालिकाको बैठकमै मोबाइल निकालेर वडा अध्यक्ष न्यौपानेले बोलेको कुरा रेकर्ड गरेको एक कार्यपालिका सदस्यले बताए । कार्यपालिकाको बैठकमा नै अध्यक्ष खड्काले रेकर्ड गर्न थालेपछि वडाअध्यक्ष न्यौपानले रेकर्ड गर्न नपाइने भन्दै मोबाइल खोसेका थिए । वडा अध्यक्ष न्यौपानेले गाउँपालिकाका अध्यक्षमा होइन प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षता एम्बुलेन्स सञ्चालन गर्नुपर्ने प्रस्ताव राख्नुभएको थियो ।
गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स गाउँपालिकाका अध्यक्ष खड्काको निर्देशनमा मात्र चल्ने गरेको जनगुनासो आएपछि वडाअध्यक्षहरुले असन्तुष्टि जनाएका छन् । वडा अध्यक्षहरुले वडाभित्र बिरामी परेर एम्बुलेन्स चाहिएको अवस्थामा चालकहरुले बहानाबाजी गरेर गाउँपालिकाका अध्यक्षको निर्देशनमा मात्र सञ्चालन गर्दै आएको आरोप लगाएका छन् ।
खिम्तीका वडाअध्यक्ष शिव प्रसाद न्यौपानले रामेछाप न्युजसँग भन्नुभयो,‘गाउँपालिकाले खरिद गरेर निशुल्क रुपमा सञ्चालनमा रहेको दुई वटा एम्बुलेन्सलाई नीति र विधिमा चलाउनु पर्छ भनेर मैले कार्यपालिकाको बैठकमा प्रस्ताव राखेपछि, गाउँपालिकाका अध्यक्षले मेरो भनाई रेकर्ड गर्न थालेपछि विवाद भएको हो ।’

कार्यपालिकाको बैठकले एम्बुलेन्स सञ्चालक समिति गठन गर्ने र कार्यविधि बनाएर एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेपनि अध्यक्ष खड्काले भने सञ्चालक समितिले नै कार्यविधि बनाइसकेको दावी गर्नुभएको थियो । नियम अनुसार कुनै पनि कार्यविधि र कानुन कार्यपालिकाको बैठकले निर्णय गर्नुपर्ने हुन्छ ।
कार्यपालिकाका सदस्य एवं लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका वडा अध्यक्ष सुवास बोहोराले गाउँपालिकाका अध्यक्ष खड्का नियम विपरीत अडान लिदा प्रमुख प्रशासकीय अधिकृत  मौन बसेको बताउनुभयो । उहाँले भन्नुभयो,‘गाउँपालिकाभित्र नियम कानुनको बारेमा ठिक र बेठिक भन्ने प्रमुख प्रशासकीय अधिकृतको मौनताले झन हामीलाई झस्काएको छ ।’

बहुमत कार्यपालिकाका सदस्यहरुको माग बेवास्था गरेपछि बैठकमा कुनै पनि निर्णय हुन नसकेको बताउदै उहाँले गाउँपालिकाको अध्यक्षको दादागिरीकै कारण गाउँपालिकाभित्र विकास निर्माणको काम समेत ठप्प बनेको बताउनुभयो । वडा अध्यक्ष न्यौपानेले अध्यक्ष खड्काको भनाई उदृत गर्दै रामेछाप न्युजसँग भन्नुभयो,‘नयाँ आउनुभएका प्रमुख प्रशासकीय अधिकृत दोस्रो गोविन्द्र खड्का हो ।’ एम्बुलेन्स सञ्चालनको कार्यविधिको विषयमा विवाद भएपछि लकडानले पारेको प्रभाव र विकास निर्माणका योजना अगाडि बढाउने विषय बैठकमा प्रवेश गर्न नपाइएको बताइएको छ । यस विषयमा सम्पर्क खोज्दा लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर खडकासँग सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्