रामेछापमा क्वारेन्टाइनको संख्या ११ सय पुर्याइने
१४ जेठ, रामेछाप ।
सम्भावित कोरोना भाइरसको संक्रमण रामछाप जिल्लामा फैलिन नदिने क्वारेन्टाइनको संख्या थप बढाइने भएको छ । जिल्लाका आठ वटा स्थानीय तहमा हाल तयारी अवस्थामा रहेको ३ सय ३१ वटा क्वारेन्टाइन रहेका छन् । भारतबाट जिल्ला भित्र्ने सम्भावित नागरिकहरुलाई मध्यनजर गरेर क्वारेन्टाइनको संख्या बढाउन लागेको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भारतीय नाकाहरुबाट जिल्लामा प्रवेश गर्ने नागरिकहरुको सुरक्षित रुपमा राख्नको लागि क्वारेन्टाइनको संख्या बढाउन आठ वटै स्थानीय तहको सरकारलाई आग्रह गरेको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘हरेक स्थानीय तहले थप १०० ।१०० वटा क्वारेन्टाइनको बेड क्षमता विस्तार गर्न आग्रह गरेका छौं ।’
जिल्ला स्तरीय क्राइसिस मेनेजमेन्ट सेन्टरको अध्यक्ष समेत रहनुभएका प्रजिअ शर्माले क्वारेन्टिनको संख्या बढाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले भारतबाट आएका नागरिकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्नुपर्ने बताउदै सोही अनुसार व्यवस्थापनको कार्यमा स्थानीय सरकार जुटनु पर्ने बताउनुभयो ।
कुन स्थानीय तहमा कति क्वारेन्टाइन ?
कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७१ शैयाको आइसोलेशन कक्ष र ३ सय ३१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ । त्यसैगरी मन्थली नगरपालिकामा ३६, रामेछाप नगरपालिकामा ७० ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४७ , गोकुलगंगा गाउँपालिकामा ३४ , उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४९ र सुनापति गाउँपालिकामा २६ शैया क्वारेन्टान बेड स्थापना भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले बताएको छ ।