नेपालमा एकै दिन सबैभन्दा धेरै कोरोना सङ्क्रमण पुष्टि, ११४ जना थपिए
१४ जेठ, काठमाडौं ।
नेपालमा बुधवार ११४ कोरोनाभाइरस सङ्क्रमित थपिएका छन्। यो एकै दिनमा सङ्क्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा ठूलो सङ्ख्या हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधवार अपराह्ण नेपालमा कुल सङ्क्रमित ८८६ पुगेको बताए। तीमध्ये ६९९ जनाको उपचार भइरहेको र १८३ जना निको भएको उनले बताए। मङ्गलवार ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो। अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
उनका अनुसार नेपालमा सङ्क्रमितमध्ये ९० जना महिला र ७९६ जना पुरुष रहेका छन् । डा. देवकोटाले गएको २४ घण्टामा ३,५८० जनाको पीसीआर परीक्षण र २,३२० जनाको आरडीटी परीक्षण गरिएको बताए। अहिलेसम्म नेपालमा पीसीआरबाट ५८,२७७ जना गरी १५८,५६४ जनाको कोरोनाभाइरस परीक्षण भएको मन्त्रालयको तथ्याङ्क छ।