रामेछापका ८ वटा स्थानीय तहमा यस बर्ष कति बढयो बजेट ?
१७ जेठ, काठमाडौं ।
रामेछाप जिल्लाको आठ वटा स्थानीय तहमा यस बर्ष गत आर्थिक बर्ष भन्दा बढी बजेट विनियोजन भएको छ । संघीय सरकारले गत बर्ष भन्दा यस बर्ष बढी बजेट विनियोजन गरेको हो । देश कोरोना भाइरसँग लडिरहेको बेला आएको यस बर्षको बजेटमा विगतकै जतिकै बजेट आउने अपेक्षा गरेपनि गत बर्ष भन्दा यस बर्ष रामेछाप जिल्लाले पचास करोड बढी बजेट पाएको छ । रामेछापको लिखु तामाकोसी गाउँपालिका बाहेकका सात वटा स्थानीय सरकारले अधिकाशं बजेट खर्च गरिसकेका छन् ।
रामेछाप जिल्लामा मन्थली नगरपालिका, रामेछाप नगरपालिका र खाँडादेवी गाउँपालिका बाहेक पाँच वटा गाउँपालिकाको आन्तरिक स्रोत निकै न्युन छ । संघीय सरकार र प्रदेश सरकारबाट विनियोजन हुने बजेटकै आधारमा स्थानीय सरकारहरुले बजेट निर्माण गर्ने गरेका छन् । गत बर्ष संघीय सरकारबाट मन्थली नगरपालिकाले ५१ करोड प्राप्त गरेकोमा यस बर्ष ५७ करोड ५९ लाख पाएको छ । जिल्लामा सबै भन्दा बढी बजेट पाउने मन्थली नगरपालिका नै हो ।
त्यसैगरी रामेछाप नगरपालिकाले गत बर्ष ३४ करोड प्राप्त गरेको थियो भने यस बर्ष ७ करोड बढी पाएको छ । जिल्लामा यस बर्ष संघीय सरकारबाट कम बजेट प्राप्त सुनापती गाउँपालिकाले प्राप्त गरेको छ । गत बर्ष उमाकुण्ड गाउँपालिकाले कम बजेट प्राप्त गरेको थियो । गत बर्ष सुनापती गाउँपालिकाले २४ करोड पाएकोमा यस बर्ष २९ करोड ५५ लाख प्राप्त गरेको छ । दोरम्बा गाउँपालिकाले गत बर्ष २७ करोड पाएको थियो भने यस बर्ष ३४ करोड १५ लाख प्राएको छ ।
खाँडादेवी गाउँपालिको गत बर्ष ३२ करोड पाएकामा यस बर्ष आठ करोड बढी ४० करोड १० लाख प्राप्त गरेको छ । लिखु तामाकोसी गाउँपालिकाभित्र जनप्रतिनिधिहरु रहेको आन्तरिक विवादको कारण गत बर्षको बजेट खर्च हुन सकेको छ । चालु बजेट खर्च भएपनि पुँजीगत खर्च हुन सकेको छैन् । केही महिना अघि मात्र बजेट पारित गरेको थियो ।
गत बर्ष २८ करोड प्राप्त गरेको लिखु तामाकोसी गाउँपालिकाले यस बर्ष ३२ करोड २४ लाख प्राप्त गरेको छ । गत बर्ष गोकुलगंगा गाउँपालिकाले २७ करोड बजेट प्राप्त गरेकोमा यस बर्ष ३३ करोड २४ लाख बजेट प्राप्त गरेको छ । गत बर्ष सबै भन्दा कम बजेट प्राप्त गरेको उमाकुण्ड गाउँपालिकाले यस बर्ष आठ करोड बढी प्राप्त गरेको छ । संघीय सरकारबाट प्राप्त बजेट स्थानीय तहले सडक निर्माणमा खर्च गर्ने गरेका छन् ।