रामेछापको उमाकुण्ड गाउँपालिकामा पहिलो पटक कालाचौतारा- सिगंटी-च्यादलु-सडक कालोपत्रे हुँदै
२२ जेठ, रामेछाप ।
रामेछाप जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको उमाकुण्ड गाउँपालिकामा पहिलो पटक सडक कालोपत्रेको काम अगाडि बढेको छ । उमाकुण्ड गाउँपालिकाको समन्वय र बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको पहलमा पहिलो पटक गाउँपालिकाभित्र सडक कालोपत्रे हुन लागेको हो ।
गोकुलगंगा गाउँपालिका–३ रस्नालु र उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरको सीमाना कालाचौताराबाट च्यादलु हुँदै सिगंटीसम्मको १७ किलोमिटर सडक कालोपत्र हुन लागेको छ । उक्त सडक उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रिति हुँदै सिंगटीसम्म कालोपत्रको योजना अगाडि बढेपछि गाउँपालिकावासीमा खुसीयाली छाएको छ ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जिल्लाको दुर्गम क्षेत्रको रुपमा चिनिदै आएको उमाकुण्ड गाउँपालिकाले अब सुगम हुने बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘रामेछाप जिल्लाका सबै मुख्य सडकको कालोपत्रको काम सुरु भइसकेको छ, अब सडक कालोपत्र भएपछि शहरबाट खाद्य सामाग्री लिएर आउने ढुवानीका सवारी साधनले गाउँबाट पनि शहरतिर तरकारी र फलफुल लिएर जाने अवस्था सृजना गर्नुपर्छ ।’
उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले गाउँपालिकाको पहलमा पहिलो पटक सडक कालोपत्र हुन लागेको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘जिल्लाको दुर्गम क्षेत्रको रुपमा चिनिदै आएको उमाकुण्ड गाउँपालिका अब विस्तारै सुगमको परिचय बनाउदैछ, हामी सडकसँगै अन्य पूर्वाधार निर्माणको काममा जुटेका छौं ।’
उहाँका अनुसार यस आर्थिक बर्षमा कालाचौताराबाट १४ सय ५० सय मिटर सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । राजधानी काठमाडौ हुँदै सदुरमुकाम मन्थलीबाट गाउँपालिका जोडने सडक बर्षौअघि ट्रयाक ओपन भएपनि कालोपत्रेको काम अगाडि बढन सकेको थिएन । सदरमुकाम मन्थलीबाट उमाकुण्ड गाउँपालिकाको केन्द्रसम्म ७० किलोमिटर रहेको छ ।
सात मिटर चौडाई रहेको १२ सय मिटर सडक कालोपत्रे गर्न बागमती प्रदेश सरकारले ४ करोड रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष सुनुवारले थप पाँच किलोमिटर सडक कालोपत्रे गर्नको लागि बागमती प्रदेशका अर्थमन्त्री ढुंगेलको पहलमा १७ करोड रुपैयाँ विनियोजन भएको र सडक निर्माणको लागि ठेक्का समेत आह्वान भइसकेको बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष सुनुवारले भन्नुभयो,‘गाउँपालिकाले सडकको डिपिआर तयार गरेर बजेटको लागि प्रदेश सरकारसँग पहल ग¥यो, बागमती प्रदेशले प्राथमिकताको साथ सडक निर्माणमा बजेट दियो, अब राजधानी काठमाडौ जान आउन निकै सहज भयो ।’ धुले सडक हुँदा बर्षाको समयमा सडक अवरुद्ध हुँदा गाउँपालिकाभित्र उत्पादित आलु लगायतका तरकारी र फलफुल बजारसम्म पुर्याउन कठिनाइ हुँदै आएको थियो ।
पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख सोमराज तिम्सिनाले सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले कालोपत्र गर्नको लागि ग्राबिल र सडकको नाला बनाउने काम सम्पन्न गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो,‘लकडाउनको कारण कालोपत्र गर्न केही ढिला भएको छ, अब जतिसक्दो छिट्टो सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेका छौं ।’