रामेछापमा क्वारेन्टाइनमा बस्नेको संख्या ह्वातै बढयो



२२ जेठ, काठमाडौं ।
भारतमा रोजगारीमा गएका रामेछापका नागरिकहरु जिल्ला फर्किएसँगै क्वारेन्टाइनमा बस्नेको संख्या बढेको छ । भारतबाट आउने नागरिकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखेपछि जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या २ नाघेको छ । भारतबाट आएका नागरिहरुलाई स्थानीय तहले अनिवार्य रुपमा क्वारेन्टाइनमा राखेर निगरानी बढाएको छ ।

भारतबाट आएका नागरिकहरुको आरडिटी र पिसिआर गर्ने क्रमलाई पनि जिल्ला स्वास्थ्य कार्यालयले तीब्रता दिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले भारत गएका जिल्लाका नागरिकहरु फर्कनेक्रम बढेसँगै क्वारेन्टाइनमा बस्नेहरुको संख्यामा बृद्धि भएको बताउनुभयो ।

उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘भारतबाट फर्किएका नागरिकहरुलाई स्थानीय तहले अनिवार्य रुपमा क्वारेन्टाइनमा राखेका छन, क्वारेन्टाइनमा बस्नेहरुको पिसिआर र आइडिटी परीक्षणको काम पनि भइरहेको छ ।’ उहाँका अनुसार आजसम्म जिल्लाका ८ वटा स्थानीय तहमा क्वारेन्टानमा बस्नेको संख्या २ सय ३ पुगेको छ । जिल्लाभर १ सय ४५ जना सामुदायिक क्वारेन्टाइन र ५७ जना होम क्वारेन्टानमा बसेको कर्णले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार सुनापति गाउँपालिकामा ५ जना, दोरम्बा गाउँपालिकामा १६,खाँडादेवी गाउँपालिकामा २३ जना, मन्थली नगरपालिकामा ५२ जना, रामेछाप नगरपालिकामा २७ जना, उमाकुण्ड गाउँपाकिलामा २१ जना गोकुलगंगा गाउँपालिकामा १९ जना र लिखुतामाकोशी गाउँपालिकामा ३९ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्