सुनापती गाउँपालिकाका ९७४ नागरिक वैदेशिक रोजगारीमा, अलपत्र परेकाले गाउँपालिकामा सम्पर्क गर्न सक्ने
२५ जेठ, रामेछाप ।
रामेछापको सुनापती गाउँपालिका ९ सय ७४ जना नागरिकहरु वैदेशिक रोजगारीमा रहेको गाउँपालिकाले बताएको छ । कोरोना भाइरसको संक्रमणपछि विभिन्न देशमा रहेका नागरिकहरुको खोजी गर्ने क्रममा राजगारी र अध्ययनको लागि ९ सय ७४ जना नागरिकहरु विदेशमा रहेको विवरण गाउँपालिकाले संकलन गरेको हो ।
गाउँपालिकाको ५ वटै वडामा विदेशमा बस्ने नागरिकहरुको विवतरण संकलन गरिएको गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका वडा नम्बर २ दिमीपोखरीका वडा अध्यक्ष कमल केसीले रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘कोरोनाको कारण उत्पन्न परिस्थितिको कारण गाउँपालिकाका कोही पनि नागरिकहरु विदेशमा अलपत्र परेको भएमा सम्बन्धित वडाअध्यक्ष र गाउँपालिकामा सम्पर्क गर्न सक्नुहुनेछ ।’ संघीय सरकारले कोरोनाको कारण विदेशमा अलपत्र परेका नागरिकहरुलाई पहिलो चरणमा नेपाल फर्काउने काम सुरु गरिसकेको छ ।
गाउँपालिकाको तथ्याङक अनुसार वडा नम्बर १ गुन्सीमा १ सय ६२ जना, वडा नम्बर २ दिमीपोखरीमा २ सय ५४ जना, वडा नम्बर ३ हिलेदेवीमा २ सय ३६ जना, वडा नम्बर ४ बेथानमा २ सय १५ जना र वडा नम्बर ५ खनियापानीमा १ सय ७ जना विदेशमा रहेका छन् । सबै भन्दा बढी वडा नम्बर २ दिमीपोखरी र सबै कम वडा नम्बर ५ खनियापनीमा १ सय ७ जना वैदेशिक रोजगारीमा रहेका छन् । गाउँपालिकाले विदेशमा रहेका नागरिकहरुको संख्या बढी हुन सक्ने बताएको छ । प्रवक्ता केसीले अलपत्र परेका नागरिकहरुको तथ्याङक संकलन गरेर संघीय सरकारसँग समन्वय गरेर आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउन पहल गर्ने बताउनुभयो ।