पीडामा रहेका परिवारलाई रामेछापका प्रजिअ शर्माद्धारा घरमै पुगेर राहत हस्तान्तरण



१० असार, रामेछाप ।
दोरबा गाउँपालिका–१ डडुवा घर भई दोलखाको मेलुङ्स्थित माइती गएका बेला चट्याङ लागेर मृत्यु हुनुभएका सीतामाया श्रेष्ठको परिवारलाई जिल्ला प्रशासन कार्यालय रामेछापले घरमै पुगेर राहत उपलब्ध गराएको छ । मृतक श्रेष्ठको परिवारलाई रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले घरमै पुगेर राहत हस्तान्तरण गर्नुभएको हो ।

चटयाङ लागेर फौदबहादुर श्रेष्ठकी श्रीमती सीतामाया श्रेष्ठको दोलखामा मृत्यु भएपछि उहाँको परिवार पीडामा रहेको छ । जिल्ला विपद‍् व्यवस्थापन समितिको तर्फबाट १ लाख रुपैँया हस्तान्तरण गरेपछि पीडामा रहेका परिवारले राहत महशुस गरेको छ ।

रामेछापका प्रजिअ शर्माले चटयाङबाट ज्यान गुमाउनुभएको पीडित परिवारकै घरमा पुगेर राहत वितरण गरिएको जानकारी दिदै भन्नुभयो,‘पीडामा पैसासँगै उपस्थिति पनि ठूलो कुरा हो, त्यही भएर घरमै पुगेर राहत हस्तान्तरण गरिएको हो ।’ मृतक श्रेष्ठकी श्रीमान‍्, दुई छोरा, बुहारी, दुई छोरी र नाति नातिना रहेका छन् ।
राहत वितरणमा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खडका,जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठक, नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्की, नेकपा नेता आनन्द श्रेष्ठ, प्रहरी प्रमुख लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्