रामेछापमा पनि प्रवेश गर्‍यो सलह, बाली सखाप पार्ने भएपछि किसान चिन्तित



१४ असार, रामेछाप ।
रामेछाप जिल्लामा पनि बाली खाने सलह फट्याङग्रा प्रवेश गरेको छ । शनिबार तराईको विभिन्न सीमाबाट नेपालमा प्रवेश गरेको सलह एकै दिनमा रामेछाप प्रवेश गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सिन्धुलीको बाटो हुँदै सुनकोसी तरेर सलहको बथान  रामेछाप र ओखलढुंगा लागेको पुष्टि गरेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सलह रामेछाप जिल्लाभित्र प्रवेश गरेको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘सलह जिल्लाभित्र प्रवेश गरेको छ, कुन–कुन ठाउँमा रहेको भन्ने विषयमा कृषि ज्ञान केन्द्रसँग जानकारी लिने क्रममा छौ ।’
सलह प्रवेश गरेसँगै कोरोनाको त्रासमा रहेका रामेछापका किसानहरुलाई थप अर्को चिन्ताले सताएको छ ।

यो फट्याङग्राको एक बथान अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तानहुँदै भारत छिरेको थियो । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)का अनुसार एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झण्डै चारदेखि आठ करोड फट्याङग्रा हुन्छन् ।

एक दिनमा फट्याङग्राहरु करिब १३० किलोमिटरसम्म बथान बनाएर हिड्न सक्छन् । फट्याङग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञहरुले बताएका छन् । यो एक दिनमा ५ सय किलोमिटरसम्म बथानमै उठान भर्छ र आफ्नो गन्तव्यमा पुगेर जमिनमा और्लन्छ ।

प्रतिक्रिया दिनुहोस्