कोरोनासँगै मन्थलीमा भुस्याह कुकुरको त्रासः बजारमा हिडनै डर
१६ भदौ, रामेछाप ।
नागरिकरू कोरोनाकाे विरुद्ध लडिरहेका बेला रामेछापकाे सदरमुकाम मन्थलीका नागरिकहरुलाई भने अर्को त्रास आइलागेको छ । कोरोना नियन्त्रण र रोकथामको लागि दुई सातादेखि जिल्लाभर जिल्ला प्रशासन कार्यालय रामेछापले निषेधाज्ञा जारी गरेको छ । बिहानभर मात्र खाद्यन्न पसल सञ्चालन हुँँदै आएको मन्थलीमा घर बाहिर सामान किन्न निस्किन समेत नागरिकहरुलाई डर भएको छ । सदरमुकाम मन्थलीमा लामो समयदेखि भुस्याह कुकुरको विगविगी हुँदै आएको छ । मन्थलीको बिपी चोक, देवकोटा चोक लगायतका चोकचोकमा हुल बाँधेर भुस्याह कुकुर निस्किने वित्तिकै अहिले सर्तक भएर हिडने अवस्था सृजना भएको छ ।
गत शनिवार रेबिज लागेको आशंका गरिएको भुस्याह कुकुरले टोक्दा मन्थलीका ८ जना घाइते भएका थिए । कुकुरले बजारमा आतंक मच्चाउन थालेपछि बजारवासीले सडकमा रहेका भुस्याह कुकुरको व्यवस्थापन गर्न मन्थली नगरपालिकासँग माग गरेका छन् । कुकुरको कारण ज्यान जाने अवस्था सृजना भएपछि बजारवासीले तत्काल सडकमा देखिएका भुस्याह कुकुरको व्यवस्थापन गर्न माग गरेका हुन् ।
नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले बजारमा भुस्याह कुकुरले आतंक मच्चाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘बजारमा मानिसहरु बिहानको समयमा सामान किन्न जान पनि निकै डरलाग्दो अवस्था छ, नगरपालिकाले तत्काल भुस्याह कुकुर व्यवस्थापन गर्नुको विकल्प छैन् ।’
भुस्याह कुकुरको व्यवस्थापन गर्न मन्थली नगरपालिकालाई पनि टाउको दुखाईको विषय बन्न पुगेको छ । मन्थली नगरपालिकाले सरोकारवाला निकायसँग पटक–पटक छलफल पनि गर्दै आएको छ । तर बजार क्षेत्रमा भुस्याह कुकुर हटाउन भने नगरपालिकाले सकिरहेको छैन् ।
मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले बजार क्षेत्रमा रहेको भुस्याह कुकुरलाई भ्याक्सिन दिने काम गरिएको बताउनुभयो । बजार क्षेत्रमा रहेको भुस्याह कुकुरले मान्छे नै टोकेर घाइते बनाउन थालेपछि उचित व्यवस्थापनमा नगरपालिका जुटेको बताउदै बस्नेतले रामेछाप न्युजसँग भन्नुभयो,‘कुकुरले टोकेर मान्छे घाइते बनाइसक्यो, पशु अधिकारकर्मी कुराले समस्या सृजना गर्ने गरेको छ ।’
उहाँका अनुसार मन्थली बजार क्षेत्रमा झण्डै डेढ देखि दुई सय भन्दा बढी भुस्याह कुकुर रहेका छन् । मन्थलीमा एक महिना अघि पनि भुस्याह कुकुरले दुःख दिएको थियो ।रेविज लागेको कुकुरले टोक्दा यस अगाडि मन्थली नगरपालिकामा मात्र ७ वटा पशु मरेका थिए ।