साँघुटार र रामेछाप बजारमा सिसी क्यामेरा जडान गर्दै रामेछाप नगरपालिका
२१ भदौ, रामेछाप ।
नगरपालिकाभित्रको शान्ति सुरक्षाको अवस्था थप मजबुद बनाउन रामेछाप नगरपालिकाले साँघुटार र रामेछाप बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने निर्णय गरेको छ । रामेछाप नगरपालिकाले पहिलो पटक बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने निर्णय गरेको हो ।
जिल्लाको मुख्य बजार क्षेत्र र सीमा नाकामा सिसी क्यामेरा जडान गर्ने नीति लिएको जिल्ला प्रहरी कार्यालयले समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत सिसी क्यामेरा जडान गर्ने काम अगाडि बढाएको छ । मन्थली नगरपालिकाको बजार क्षेत्र र खाँडादेवी गाउँपालिकाको सित्खा र लुभु बजारमा सिसी क्यामेरा जडान गरेर सञ्चालनमा रहेको छ ।
रामेछाप नगरपालिकाका नगर उपप्रमुख सृजना खड्काले नगरपालिकाको रामेछाप बजार क्षेत्र र साँघुटारमा आवश्यकताको आधारमा सिसी क्यामेरा जडान गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘नगर कार्यपालिकाको बैठकले बजार क्षेत्रमा सिसी क्यामेरा राख्ने निर्णय गरेको छ, सिसी क्यामेरा जडानको कामलाई अगाडि बढाउछौं ।’ नगरपालिकाले जडान गरेको सिसी क्यामेराको मनिटरिङ भने प्रहरीले गर्नेछ ।
जिल्लाभित्रको शान्ति सुरक्षाको अवस्थालाई थप मजबुद्ध बनाउन जिल्लाको मुख्य सीमा नाकामा सिसी क्यामेरा जडान गर्ने कामलाई अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले बताउनुभयो । रामेछाप नगरपालिकाले सिसी क्यामेरा जडान गर्ने निर्णय गर्नु सुखद भएको बताउदै उहाँले नगरपालिकाले जडान गरेको सिसी क्यामेरा प्रहरीले मनिटरिङ गर्ने बताउनुभयो ।
जनशक्ति परिचालनसँगै प्रविधिलाई पनि जोड दिएर अगाडि बढन लागेका छौ, जिल्लाभित्र कुनै पनि अपराधिक घटना हुन नदिन र यदि भइहालेको अवस्थामा पनि अपराधी उम्किन नदिन सिसी क्यामेरा जडान गर्नुको विकल्प छैन्, डिएसपी पाठकले रामेछाप न्युजसँग भन्नुभयो ।
हाल मन्थली बजारभित्र हाल २८ वटा सिसी क्यामेरा जडान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तहसँगको समन्वयमा जिल्लाका मुख्य नाकाहरुमा सिसी क्यामेरा राख्न गृहकार्य अगाडि बढाएको छ । पाठकका अनुसार अझै लिखु तामाकोसी गाउँपालिकाको खिम्तीमा १० वटा जति सिसी क्यामेरा जडान गर्नुपर्ने आवश्यकता छ ।