सुशासन र विकासमा अग्रसर हुन कर्मचारीलाई मन्त्री ढुंगेलको आग्रह
२२ भदौ, काठमाडौं ।
बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले सुशासन र विकासमा अग्रसर हुन कर्मचारीलाई आग्रह गर्नुभएको छ । उहाँले कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनुपर्ने बताउनुभएको हो ।
निजामती सेवा दिवसका अवसरमा निजामती अवसरमा शुभकामना व्यक्त गर्दै प्रवक्ता ढुंगेलले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रत्याभूति दिलाउने भूमिका कर्मचारीको काँधमा रहेको बताउनुभएको छ ।
उहाँद्धारा जारी गरेको शुभकामनामा भनिएको छ, लोकतन्त्रको अनुभूति आम नागरिकसम्म पुर्याई जनताको सेवा गर्न, राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिबृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण हुन्छ ।
समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सम्पूर्ण निजामती कर्मचारीहरुले आफ्नो क्षमता अभिबृद्धि गर्ने ज्ञान, सीप, दक्षता एवं त्यस क्षमतालाई निष्ठा र इमान्दारीपूर्वक व्यवहारमा प्रदर्शन गर्नु पर्नेमा उहाँले जोड दिनुभएको छ ।
प्रवक्ता ढुंगेले विश्वब्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९को विषम परिस्थितिलाई सामना गर्ने सिलसिलामा जीवन जोखिममा राखी अग्रभागमा खटिनु भएका राष्ट्र सेवकहरुप्रति यस अवसरमा सम्मान व्यक्त गर्नुभएको छ ।