दोरम्बा गाउँपालिकाले पूरा गर्यो बाचाः अध्यक्ष मोक्तानद्धारा अस्पताल उदघाटन
२३ भदौ, रामेछाप ।
दोरम्बा गाउँपालिकाले नागरिकहरुसँग अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता पूरा गरेको छ । एक बर्ष अघि नै डाक्टर सहितको सेवा दिदै आएको दोरम्बा स्वास्थ्य चौकीले एक साता अघि पाँच शैयाको अस्पताल सञ्चालनको स्वीकृति पाएको थियो ।
दोरम्बा प्राथमिक अस्पतालको गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले मंगलवार एक कार्यक्रमकोबीच उदघाटन गर्नुभएको छ । अस्पताल उदघाटन गर्दै उहाँले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार गाउँपालिकामा अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो ।
उहाँले अस्पताल सञ्चालन भएपनि सामान्य उपचारको लागि काठमाडौ जानुपर्ने बाँध्यता हटेको बताउदै आगामी दिनमा अस्पताललाई आवश्यक पर्ने पूर्वाधार र उपकरण उपलब्ध गराउने बताउनुभयो । अध्यक्ष मोक्तानले प्रस्तावित १५ शैयाको अस्पतालको लागि भवन निर्माण गर्न डिपिआरको काम सम्पन्न भइसकेकाले यस आर्थिक बर्षभित्र नै निर्माणको काम अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरज मरासेनीले गाउँपालिकाभित्र पहिलो पटक अस्पताल सञ्चालन हुनु खुसीको विषय भएको बताउनुभयो ।
दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठले सबैको सहयोग र प्रयासबाट दोरम्बामा अस्पताल सञ्चालन हुन सकेको बताउनुभयो । अस्पताल सञ्चालनमा ल्याउन भूमिका खेल्ने गाउँपालिका, अस्पतालको मान्यता दिने स्वास्थ्य मन्त्रालय र स्थानीयवासीले निर्वाह गरेको भूमिका निकै प्रशंसनीय रहेको उहाँले बताउनुभयो । वडा कार्यालयले अस्पताललाई थप सुविधा सम्पन्न बनाउनको लागि गाउँपालिकासँग समन्वय गरेर काम गर्ने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।