दोरम्बा गाउँपालिकाको दोरम्बामा १५ शैयाको अस्पताल बन्ने



स्नेहा सिलवाल
१२ असोज, रामेछाप । दोरम्बा गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । हरेक स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्ने संघीय सरकारको कार्यक्रम अन्तर्गत दोरम्बा गाउँपालिकामा पनि अस्पताल निर्माण हुन लागेको हो ।

दोरम्बा गाउँपालिका–२ दोरम्बामा निर्माण हुने अस्पतालको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम सम्पन्न भइसकेको छ । गाउँपालिकाले गत बर्ष अस्पताल निर्माणको लागि डिपिआर गरेको थियो । स्वास्थ्य मन्त्रालयले अस्पताल निर्माणको प्रक्रिया यस आर्थिक बर्षबाटै अगाडि बढाउने तयारी गरेको छ ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले अस्पताल निर्माणको लागि डिपिआर तयार गरेर स्वास्थ्य मन्त्रालयमा पेश गर्ने प्रक्रियामा रहेको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘अस्पताल निर्माणको लागि स्वास्थ्य मन्त्रालयले डिपिआरको रिपोर्ट माग गरेको छ, केही दिनभित्र नै मन्त्रालयमा पेश गछौं ।’

दोरम्बा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धिरज मरासेनीले गाउँपालिकाको अस्पताल निर्माणको लागि स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध गराए लगत्तै ठेक्का प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

अस्पताल निर्माण गर्नको लागि झण्डै १५ करोड रुपैयाँ खर्च हुने डिपिआरको रिपोर्टमा उल्लेख गरिएको छ । अस्पताल डिजाइन गर्ने जिम्मेवारी पाएका इन्जिनियरको घर प्रालिका सञ्चालक सरोज कार्कीले अस्पताल निर्माण गर्न करिब १५ करोड खर्च हुने बताउनुभयो । उहाँका अनुसार १५ शैयाको अस्पताललाई २५ शैयासम्म विस्तार गर्न सकिने गरेर डिजाइन गरिएको छ ।

दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठले अस्पताल निर्माणको लागि आवश्यक पर्ने जग्गा प्राप्तिको काम सम्पन्न भइसकेको बताउनुभयो । उहाँका अनुसार तीन रोपनी क्षेत्रफलमा अस्पाल निर्माण हुनेछ । अस्पतालसँगै डाक्टर र अन्य कर्मचारी बस्ने क्वार्टर समेत निर्माण हुनेछ ।
दोरम्बा गाउँपालिकाको पहलमा गत बर्षदेखि डाक्टर सहितको सेवा दोरम्बा प्राथमिक अस्पतालबाट सुरु हुँदै आएको छ । दोरम्बामा अस्पताल सञ्चालनमा आएपछि नागरिकहरुलाई सामान्य उपचारको लागि सदरमुकाम मन्थली र काठमाडौं जानुपर्ने बाँध्यता हटेको छ ।

प्रतिक्रिया दिनुहोस्
zfqTjR, 0K5y8ebdGv3M, CFcsjmHBZ8ujq7, wpWs, Oweww87q9n0cg5pV, Kk9yODd, y9ebEASy437pjr, XEl6kjvlL, O7ZBD7BeU, na7ka4shuNi7gDGB