रामेछाप नगरपालिकाभित्र विवादः नगरप्रमुख थापा मगरको तीन विकल्प



१३ असोज, रामेछाप ।
कर्मचारी भर्नाको विषयलाई लिएर सुरु भएको रामेछाप नगरपालिकाभित्रको विवाद थप जटिल बन्दै गएको छ । नेकपा र नेपाली कांग्रेसले कर्मचारी भर्नाको विषयलाई लिएर आ–आफ्नो अडान कायमै राखेपछि थप जटिल बनेको हो । नगर कार्यपालिकाबाट सुरु भएको विवाद दुई दलको प्रतिष्ठाको विषय बनेको छ ।
नेकपा र कांग्रेसले एक अर्कालाई गलाउने नीति लिएका छन् । रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर थापा मगरले एकलौटी ढंगले विज्ञापन विना नै छ जना कर्मचारी भर्ना गरेको आरोप नेकपाले लगाएको छ । रामेछाप नगरपालिकाले पनि विज्ञापन विना नै करारमा छ जना कर्मचारी नियुक्ति गरिनु गल्ती भएको स्वीकार गरेको छ । नगरपालिकाभित्रको विवाद बढदै गएपछि नगर प्रमुख थापा मगरले समस्या समाधानको लागि तीन विकल्प अगाडि सार्नुभएको छ ।

 

यस्तो छ तीन विकल्पः
विकल्प–१
दरबन्दी भएकाहरुलाई सम्झौता अवधि समाप्त भएपछि आवश्यक प्रक्रिया पूरा गरी सेवा करार सम्झौता गर्ने ।
दरबन्दी नभएकाहरुका लागि नगर सभामा दरबन्दी सृजना गर्ने र आवश्यक प्रक्रिया पूरा गरी सेवा करा सम्झौता गर्ने ।
दरबन्दी भएका, नभएका तर प्रक्रिया पूरा नगरी सेवा करार सम्झौता गरिएका हाालसम्मका सबैको सेवा करार सम्झौता भंग गर्ने ।

विकल्प–२
कर्मचारी भर्ना तथा करार सम्झौता सम्बन्धमा छानबिन गरी समाधानको सुझाव पेश गर्न नगरपालिकाको अधिकृत कर्मचारी १ जनाको संयोजकत्वमा, राजनीतिक दलको २ जना, वडा अध्यक्ष दुई जना सहित ५ जनाको समिति गठन गर्ने, उक्त गठित समितिलाई पूर्ण अधिकार दिई अहिलेको विवाद समाधानको सुझाव पेश गर्नुपर्ने र उक्त सुझाव दुवै पक्षले पालना गर्नुपर्ने ।

विकल्प–३
यस नगरपालिकामा हालसम्म सेवा करार तथा दैनिक ज्यालादारीमा कामकाजमा लगाइएका व्यक्तिहरुको सम्बन्धमा छानबिन गरी प्रक्रिया पूरा भए नभएको एकीन गरी के गर्न उपयुक्त हुन्छ राय सहितको प्रतिवेदन पेश गर्ने र उक्त राय सुझावको आधारमा कार्यपालिकाको पूर्ण रुपमा पालना गर्ने गरी रामेछाप नगरपालिकाको वरिष्ठ अधिकृतको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय रामेछाप र कोष तथा लेखा नियन्त्रण कार्यालय रामेछापको एक÷एक जना अधिकृत प्रतिनिधि सहितको तीन सदस्यीय छानबिन समिति गठन गर्ने ।

प्रतिक्रिया दिनुहोस्