नेपालमा बितेको २४ घण्टामा देशभर थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
१६ असोज, काठमाडौं ।
नेपालमा
बितेको २४ घण्टामा देशभर थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको जानकारी दिनुभएको हो ।
त्यसैगरी आज देशभर ९ हजार ४७४ संस्थागत आइसोलेशन र ११ हजार ७६० जना होम आइसोलेशनमा रहेका छन् । यसैगरी बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं १२८०, ललितपुरमा १६२, र भक्तपुरमा १९६ गरी कुल १६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार बितेको २४ घण्टामा थप ३३०७ जना निको भएका छन् । यससँगै निको हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको गौतमले बताए । यस्तै आज १४ हजार ७३९ जनाको पीसीआर भएको छ । नेपालमा संक्रमण मुक्त हुने दर ७३।६ प्रतिशत रहेको छ ।
यस्तै देशभर कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ५२० पुगेको मन्त्रालयले जनाएको छ । आइसीयूमा २१० जना र भेन्टिलेटरमा २९ जना उपचाररत रहेका छन् ।