कुलमान घिसिङलाई पुनः प्राधिकरणमा नियुक्ति गर्न कतारमा रहेका रामेछापवासीको माग



१७ असोज, काठमाडौं ।
वैदेशिक रोजगारीको शिलसिलामा कतारमा रहेका रामेछापवासीले चार बर्षे कार्यकाल सकिएसँगै प्राधिकरणबाट विदा हुनुभएका नेपाल विद्युत प्राधिकरणको निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नुपर्ने काम गरेका छन् । रामेछाप सेवा समाज कतारले एक विज्ञप्ति प्रकाशित गरी कुलमानको योग्यता र दक्षतालाई सरकारले विद्युत विकासमा प्रयोग गर्न आग्रह गर्दै पुनः नियुक्ति गर्नुपर्ने माग गरेका हुन् ।
समाजका अध्यक्ष ललित कुमार लो तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘नेपाल विद्युत प्राधिकरण ऐन – २०४१ मा प्राधिकरण प्रमुख कार्यकारी नेपाल सरकारले तोक्न सक्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि अविलम्ब नियुक्ति नगरी उल्टै प्रधानमन्त्रीले कानुनी व्यवस्थाबारे प्रश्न उठाइएकोमा’ गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विगतमा दैनिक १८ घण्टासम्मको अन्धकारमय जीवनी भोगेका हामी आम नेपालीहरु कुलमान घिसिङ ज्यूलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सुम्पिए पश्चात कुशल व्यवस्थापकीय क्षमता र चारित्रिक निष्ठाको कारण नेपाल लोडसेडिङ मुक्त देश बन्नुमा उहाँको अतुलनीय योगदान रहनुको साथै वर्षौ देखि ३४ अर्ब रुपैयाँ सञ्चित घाटामा रहेको संस्थालाई आफ्नो कार्यकालमा क्रमशः ११ अर्बको सञ्चित नाफामा ल्याउँदै देशको अर्थतन्त्रलाई समेत बलियो बनाउँन अब्बल भूमिका निभाउनु भएको सबैमा सर्वविदितै छ ।’

मुलुकलाई दिगो विकासतर्फ उन्मुख गराउन र सुखी नेपाली तथा समृद्ध नेपालको परिकल्पनालाई जीवित राख्नको लागि पनि विद्युत प्राधिकरण प्रमुखमा उहाँको विकल्प नभएको वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपालीहरुको दाबी रहेको समाजले ठहर गरेको छ ।

‘राष्ट्रिय महत्वाकांक्षी परियोजनाहरु जस्तै विद्युतीय तारलाई भूमिगत गराउन, स्मार्ट मिटर जडान गर्न, अनलाईनबाटै बिल भुक्तानी गर्ने प्रविधिलाई विस्तार गराउन, ग्रामीण विद्युतीकरण, उज्यालो नेपाल नामक योजना अन्तर्गत “नेपालको पानी जनताको लगानी” भन्ने नारालाई सार्थक तुल्याउन र देशभित्रका निर्माणाधिन जलविद्युत परियोजनाहरु समयमै सु–सम्पन्न गराउँदै यस अभियानहरुलाई एउटा तार्किक मोडसम्म पुर्याउनका निम्ती निवर्तमान कार्यकारी निर्देशक  कुलमान घिसिङको पुनः नियुक्ति नै वर्तमान आवश्यक्ता हो’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्