गाउँपालिकाभित्र टोलटोलमा सडक र घरघरमा धारा पुर्याउछाैः अध्यक्ष मोक्तान
२३ असोज, रामेछाप ।
दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकाभित्र टोलटोलमा सडक र घरघरमा धारा पुर्याइने. बताउनुभएको छ । गाउँपालिकाको अधिकांश टोलमा सडक पुगेको बताउदै सडक पुग्न बाँकी टोलमा पनि छिट्टै सडक पुर्याइने बताउनुभयो । गाउँपालिकाले सडक निर्माणसँग स्तरउन्नती गर्ने कार्यलाई पनि अगाडि बढाएको बताउदै यस बर्ष मात्र मुख्य पाँच वटा सडकको स्तरउन्नती गर्न ठेक्का आह्वान गरिसकेको बताउनुभयो ।
गाउँपालिकाको वडा नम्बर २ दोरम्बाको देउराली–भडारे सडकको आज उदघाटन गर्दै अध्यक्ष मोक्तानले सीमान्तकृत पहरी समुदायको जीवनस्तर माथि उठाउन सक्दो पहल गर्ने बताउनुभयो । सीमान्तकृत समुदायको वस्तीमा विकास निर्माणको काम अगाडि बढाउन र आर्थिक अवस्था उकास्ने गरी कार्यक्रम सञ्चालन गछौ, उहाँले भन्नुभयो ।
अध्यक्ष मोक्तानले यस आर्थिक बर्षबाट घर घरमा धारा जडान गर्ने कार्यक्रम वडा नम्बर २,५,६ र ७ नम्बर वडामा सुरु गरिने बताउदै आगामी बर्षमा यस कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । गाउँपालिकाले खानेपानीको धारा जडान गर्नको लागि यस बर्ष २ करोड रुपैयाँ विनियोजन गरेको छ ।
कार्यक्रममा दोरम्बा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरज मरासेनीले विकासको मेरुदण्ड भनेकै सडक भएको बताउनुभयो । उहाँले गाउँपालिकाभित्र निर्माण गरिएका सडकहरुलाई योजनाबद्ध रुपमा व्यवस्थित गरिदै लैजाने योजना रहेको बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष सहित सहभागी उक्त कार्यक्रममा दोरम्बाका वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठले वडाको विकास गर्न आफू प्रतिबद्ध भएर लागेको बताउनुभयो । उहाँले गाउँपालिकासँग समन्वय गरेर आगामी दिनमा पहरी समुदायको विकासको लागि थप कार्यक्रम अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।