सुनापती गाउँपालिकामा १० शैयाका अस्पताल बन्ने
२४ असोज, रामेछाप ।
सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीमा १० शैयाको अस्पताल निर्माण हुने भएको छ । स्वास्थ्य मन्त्रालयले यसै आर्थिक बर्षबाट अस्पताल निर्माण गर्नको लागि ८५ लाख रुपैयाँ विनियोजन गरेको छ । अस्पतालको भवन निर्माण गर्नको लागि स्थानीयले आठ रोपनी जग्गा निशुल्क रुपमा उपलब्ध गराइसकेका छन् ।
अस्पताल निर्माणको लागि शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको स्वास्थ्य शाखाले प्रारम्भिक डिजाइनको काम समेत गरिसकेको छ । स्वास्थ्य मन्त्रालयले हरेक गाउँपालिकामा अस्पताल निर्माण गर्ने नीति अनुसार गाउँपालिकाको केन्द्रमा १० शैयाको अस्पताल निर्माण हुन लागेको हो । गत बर्ष नै सुनापती गाउँपालिकाको केन्द्रमा अस्पताल निर्माण गर्ने भनिएता पनि बजेट नआउदा काम अगाडि बढन सकेको थिएन ।
सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेले स्वास्थ्य मन्त्रालयबाट अस्पताल निर्माणको लागि बजेट विनियोजन भइसकेको जानकारी पाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘अस्पताल भवनको डिजाइन स्वीकृत हुने वित्तिकै ठेक्का आह्वान गरेर निर्माणको काम अगाडि बढाउछौं ।’
स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार गाउँपालिकाले बेथानमा पाँच शैयाका कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याइसकेको छ ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले गाउँपालिकाको केन्द्र हिलेदेवीमा अस्पताल बन्ने सुनिश्चित भएको बताउनुभयो । उहाँले जतिसक्दो चाडो अस्पताल निर्माण सम्पन्न गर्न पहल गर्ने बताउनुभयो ।