पुनः लकडाउन हुन सक्छः प्रवक्ता ज्ञवाली
२५ असोज, काठमाडौं ।
कोरोना भाइरसको संक्रमण उच्च दरमा बृद्धि हुँदै गएपछि सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ।
सरकारले गरेका आग्रहको नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने तर्फ सरकारले सचेत गराएको हो। सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उहाँलेनागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताउनुभयो ।
मन्त्रिपरिषद्को निर्णयसार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले संक्रमणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन आग्रह गर्नुभयो। दशैं, तिहार र छठजस्ता चाडपर्वमा भीडभाड हुने र संक्रमण झन बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन दिन अपिल गर्दै जेष्ठ नागरिकको सुरक्षा महत्वपूर्ण भएको उल्लेख गर्दै सानो लापरवाहीले गर्दा जीवनमा नै जोखिमको अवस्था आउन नदिन आग्रह गर्नुभयो ।