उमाकुण्ड गाउँपालिकामा बन्द रहेको इलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा आउदै



२६ असोज, रामेछाप ।
विगत डेढ बर्षदेखि बन्द अवस्थामा रहेको लाप्चानेको इलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा आउने भएको छ । उमाकुण्ड गाउँपालिकाको निरन्तरको पहलपछि बन्द अवस्थामा रहेको इलाका प्रशासन कार्यालय सञ्चालन हुने भएको हो । नागरिकता बनाउन पनि घण्टौ धाएर सदरमुकाम मन्थली जानु पर्ने बाँध्यता हटाउन सरकारले विगत केही बर्षअघि लाप्चानेमा इकाला प्रशासन कार्यालय स्थापना गरेको थियो ।

स्थानीय सरकार सञ्चालनमा आएसँगै केही समय सेवा सुचारु भएको प्रशासन कार्यालय गृह मन्त्रालयले कर्मचारी नपठाउदा बन्द अवस्थामा रहेको थियो । गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारको पहलमा हाल गृह मन्त्रालयले कर्मचारी पठाएसँगै अब नियमित रुपमा सञ्चालनमा आउने भएको छ ।
इलाका प्रशासन कार्यालयमा एक जना अधिकृत, दुई जना नायक सुब्बा, एक जना सहायक कम्प्युटर प्राविधिक र दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । कार्यालय सञ्चालमा आएपछि उमाकुण्ड गाउँपालिकाका बासिन्दालाई अब नागरिकता लगायतको सेवा लिनको लागि सदरमुकाम मन्थली धाउन पर्ने बाँध्यता हटनेछ । तत्कालिन अवस्थामा रामेछापको उत्तरपूर्वी क्षेत्रमा रहेको साविकको ८ वडा गाविसका नागरिकलाई सेवा पुर्याउने उदेश्यले कार्यालय सञ्चालनमा ल्याइएको थियो ।

कार्यालयमा सरकारले अधिकृतस्तरको कर्मचारी पाउन नसक्दा केही समय सञ्चालन हुने र बन्द हुने क्रम चल्दै आएको छ ।  ईलाका प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, नाता प्रमाणित लगायतका सेवा प्रदान गर्ने गरेको थियो । लामो समय कार्यालय बन्द हुँदा यस क्षेत्रका नागरिकहरु नागरिकता बनाउने लगायतको सेवा लिन सदरमुकाम मन्थली धाउन बाँध्य हुदै आएका थिए ।

ईलाका प्रशासन कार्यालय लाप्चानेबाट जिल्लाका उत्तरपूर्वका तत्कालिन प्रीति, भूजी, गुप्तेश्वर, चुचुरे, गुम्देल, कुभुकास्थली, ठोसे र बाम्तीका नागरिकहरुले सेवा लिदै आएका थिए । पुनः कार्यालय सञ्चालनमा आउने भएपछि यस क्षेत्रका बासिन्दाहरुमा भने खुसीयाली छाएको छ ।
उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले लामो प्रयासपछि कार्यालय सञ्चालनमा आउन लागेको बताउनुभयो । ‘कार्यालय सञ्चालनको गरिदिन धेरै पटक गृहमन्त्रालय धाइयो, ढिलै भएपनि कार्यालय पुनः सञ्चालनमा आउन लागेको छ, यो खुसीको कुरा हो’,उहाँले रामेछाप न्युजसँग भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्