अब सार्वजनिक सवारीमा सबै सिटमा यात्रु राख्न पाइने, दशै मान्न सरकारको यस्तो निर्णय
६ असोज, काठमाडौं । सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । सार्वजनिक यातायातमा सामाजिक दुरी कायम नभएको र भाडा समेत पचास प्रतिशत बढी भएको गुनासो आएपछि सरकारले सवारीको सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको छ ।
अब दशैंको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय भएको छ ।
बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय गरेको छ । एक मन्त्रीका अनुसार बैठकले आम नागरिकलाई जहाँ छ, त्यही दशैं मनाउन र उपत्यकाबाट गाउँ नजान आग्रह गर्ने निर्णय पनि गरेको छ । के कसरी निर्णय कार्यान्वयन गर्ने भन्ने विषयमा सरकारल थप गृहकार्य गरेर सार्वजनिक गर्ने भएको छ ।