कोरोनाको उच्च जोखिममा मन्थलीः नगरपालिकाको कार्यालय ६ दिनको लागि बन्द
२८ असोज, रामेछाप ।
रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिका कोरोना संक्रमणको उच्च जोखिमा परेको छ । केही दिनयता मन्थली बजारमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको हो । लकडाउन खुला भएसँगै रामेछाप–काठमाडौं सार्वजनिक यातायात सञ्चालनपछि मन्थलीमा चहलपहल बढदै गएको छ ।
नागरिकहरुबाट मास्कको प्रयोग नगर्नु र सामाजिक दुरी कायन नगर्नु कोरोना संक्रमण बढनुको मुख्य कारणको रुपमा रहेको छ । मन्थली बजार क्षेत्रमा कोरोना बढेपनि दिनप्रतिदिन भिड बढने क्रम घटेको छैन् । मंगलवार मात्र मन्थली नगरपालिकाका १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
मन्थली नगरपालिकामा कार्यरत दुई जना कर्मचारी, विद्युत प्राधिकरणका एक जना, राष्ट्रिय वाणिज्य बैंकका एक जना, दुई जना व्यवसायी, तामाकोसी बोडिङ्ग स्कुलका एक जना र प्राथमिक स्वास्थ्य केन्द्रका १ जना सहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लामै सबै भन्दा बढी कोरोना सक्रमण देखिएको छ ।
कोरोना संक्रमणको उच्च जोखिममा परेको मन्थली नगरपालिकाले भने आजबाट कार्तिक २ गतेसम्म मन्थली नगरपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतद्धारा जारी सूचनामा भनिएको छ,मन्थली नगरपालिकाका केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएकाले यस नगरपालिकाबाट प्रवाह हुने स्वास्थ्य, विपद र फोहोरव्यवस्थापन जस्ता अत्यावश्यक बाहेकका सबै सेवा असोज २८ गतेबाट कार्तिक २ गतेसम्म बन्द गरिएको जानकारी गराउदछु ।