रामेछापको गाल्वामा पाँच सय क्षमताको आधुनिक सभा हल निर्माण हुने



१० कात्तिक, रामेछाप ।
रामेछापको तीन गाउँपालिकाको केन्द्र गाल्वामा पाँच सय जना अटाउने आधुनिक सभा हल निर्माण हुने भएको छ । सुनापति गाउँपालिका, दोरम्बा गाउँपालिका र खाँडादेवी गाउँपालिकाको केन्द्र गाल्वामा सभा हल निर्माण हुने भएको छ । तीनै गाउँपालिकाको लगानीमा सभा निर्माणको काम अगाडि बढाउन तीन वटै गाउँपालिका अध्यक्षले संयुक्त बैठक बसेर निर्णय गरिसकेका छन् ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गाल्वा व्यापारिक केन्द्रको साथै तीन वटै गाउँपालिकाको सेन्टर रहेकाले सभा सम्मेलन गर्नको लागि सभा हल निर्माण गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘सभा हल निर्माणको लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने तीन वटै गाउँपालिकाले बजेट हाल्ने निर्णय गरेका छौं ।’

सुनापती र खाँडादेवी गाउँपालिकाको सीमाना रहेको गाल्वा बजारलाई व्यवस्थि गर्ने कार्यक्रम पनि दुवै गाउँपालिकाले अगाडि सारेका छन् । सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले तीनवटै गाउँपालिकालाई पायक पर्ने गाल्वामा सभा हल निर्माण गर्न गाउँपालिकाले पनि लगानी गर्ने बताउनुभयो । विगत लामो समयदेखि सभा सम्मेलन हुँदै आएको गाल्वामा अहिलेसम्म कुनै व्यवस्थित सभा हल छैन, तीन वटा गाउँपालिका मिलेर अब सभाहल निर्माण गछौं, उहाँले भन्नुभयो ।

डिपिआरको तयार भए लगत्तै यस आर्थिक बर्षमै तीन वटै गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता गरेका छन् । साथै तीन वटा गाउँपालिकाको संयुक्त पहलमा प्रदेश सरकार र संघीय सरकारसँग बजेटको लागि पनि पहल गर्ने सम्झदारी तीन गाउँपालिकाबीच भएको छ ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले आधुनिक र व्यस्थित सभा हल निर्माणको लागि गाउँपालिकाले पनि सहयोग गर्ने बताउनुभयो । कुनै पनि कार्यक्रम सभा सम्मेलन गर्नको लागि आवश्यक सभा हल नहुँदा निकै सास्ती हुँदै आएको छ, खुला चौरमै कार्यक्रम गर्नुपर्ने बाँध्यता हटाउन तीन वटै गाउँपालिका मिलेर व्यवस्थित सभा हल निर्माण गर्ने अभियानमा जुटेका छौं, मोक्तानले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्