रामेछापमा सुरक्षाः सिसी क्यामेराबाट जिल्लाको गतिविधि नियाल्दै प्रहरी



११ कात्तिक, रामेछाप ।
रामेछाप जिल्लाभित्र हुने गतिविधि नियाल्न जिल्ला प्रहरी कार्यालय रामेछापले प्रविधिको प्रयोगलाई बढाएको छ । रामेछापको सदरमुकाम मन्थली बजार क्षेत्रको सबै गतिविधि प्रहरीले सिसी क्यामेराबाट मनिटरिङ गर्ने गरेको छ । सिसी क्यामेराको जडानपछि मन्थली बजार क्षेत्रमा चोरी लगायतका घटनामा कमी आएको छ ।

कुनै पनि घटना हुना साथ प्रहरीलाई अनुसन्धान गर्न समेत सहज भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले डियुटीको लागि प्रहरी खटाए पनि बजार क्षेत्रको गतिविधिको मनिटरिङ सिसी क्यामेराबाट गर्दै आएको छ । मन्थली नगरपालिकाले जडान गरेको करिब २८ वटा सिसी क्यामेरा जिल्ला प्रहरी कार्यालय रामेछापले नै मनिटरिङ गर्छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले जिल्लाको सबै सीमा नाकाहरुमा स्थानीय सरकारसँग समन्वय गरेर सिसी क्यामेरा जडानको काम अगाडि बढाउन लागिएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘अहिले मन्थली नगरपालिकाभित्र र खाँडादेवी गाउँपालिकाको सित्खामा मात्र सिसी क्यामेरा सञ्चालनमा छ, अब छिट्टै सेलेघाट,रामेछाप नगरपालिका, साँघुटार, खिम्ती लुभुघाट सहितको सीमा नाकामा सिसी क्यामेरा हुनेछ ।’

प्रविधिको प्रयोगलाई बढाउदै लैजाने बताउदै कुनै पनि दुर्घटना र अपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन सिसी क्यामेरा प्रभावकारी माध्यम बन्दै गएको पाठकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्