कोरोनाको जोखिमबीच मन्थली नगरपालिकाद्धारा कक्षा ११ परीक्षा सञ्चालन
१९ कात्तिक, रामेछाप ।
कोरोना संक्रमणको उच्च जोखिममा रहेको मन्थली नगरपालिकामा आजबाट कक्षा ११ को परीक्षा सुरु भएको छ । दिनप्रतिदिन नगरपालिकाभित्र संक्रमितको संख्या बढिरहेको बेला नगरपालिकाले माध्यामिक तहको परीक्षा आजबाट सुरु गरेको हो ।
मन्थली नगरपालिकाले सरकारले तय गरेको स्वास्थ्य मापदण्ड पालना गराएर आजबाट परीक्षा सुरु गरेको बताएको छ । हरेक परीक्षा केन्द्रमा स्वास्थ्यकर्मीले परीक्षामा सहभागी विद्यार्थीको ज्वरो जाँच गर्ने गरेका छन् । परीक्षामा सहभागी विद्यार्थीको सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गरिएको मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।
कोरोनाको कारण रोकिएका माध्यमिक विद्यालय तह कक्षा ११ को परीक्षा सुरु गरेर शैक्षिक गतिविधि अगाडि बढाइएको उहाँले बताउनयो । मन्थली नगरपालिकाभित्र ७ वटै माध्यमिक विद्यालयका करिब ४ सय विद्यार्थी परीक्षामा सहभागी भएका छन् । केही विद्यार्थीहरु भने अनुपस्थित रहेको बताउदै बस्नेतले सम्पर्क गरेर परीक्षामा सहभागी गराउन विद्यालयलार्य निर्देशन दिएको बताउनुभयो ।
नगरपालिकाभित्र रहेका मन्थली मावि, निलकण्ठेश्वर मावि कठजोर, सेतीदेवी मावि सालु, रुद्राक्षश्वर मावि मुगिटार, भीमेश्वर मावि चिसापानी, शारदादेवी मावि गेलु र कालिदेवी मावि पोखरीमा परीक्षा सञ्चालन गरिएको छ । सात वटा माव मध्ये सबै भन्दा बढी मन्थली माविका २ सय १९ विद्यार्थी परीक्षामा सहभागी छन् । जसमध्ये ९ जना विद्यार्थीहरु भने परीक्षमा सहभागी छैनन् ।
रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले स्वास्थ्य मापदण्ड पूरा गरेर स्थानीय सरकारले गतिविधि गर्न पाउने रामेछाप न्युजलाई बताउनुभयो । मन्थली नगरपालिकामा हालसम्म ८० जना कोरोना संक्रमित भएका छन् । जसमध्ये हाल दस जनाको आइसोलेशनमा उपचार भइरहेको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । ७० जना निको भएर घर फर्किसकेका छन् ।