रामेछापको विकट क्षेत्र डडुवाको पाल्लेसम्म बस सञ्चालन
५ मंसिर, रामेछाप ।
दोरम्बा गाउँपालिका–१ डुडुवाको पाल्लेबाट काठमाडौं सिधा बस सञ्चालनमा आएको छ । काठमाडौंबाट राकाथुम–गाल्पा–दोरम्बा– पात्ले रुटमा आजबाट नियमित रुपमा बस सञ्चालनमा आएको हो ।
बस सेवा उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले विकट गाउँमा यातायात सञ्चालन हुनु निकै खुसीको विषय भएको बताउनुभयो । उहाँले विकट गाउँका स्थानीय आर्थिक रुपमा विपन्न भएको अवस्थामा यातायात व्यवसायीले पनि स्थानीय जनताको अवस्थालाई मध्येनजर गरी भाडादर निर्धारण आग्रह गर्नुभयो ।
यातायात व्यवसायीहरुले बृद्धबृद्धालाई सहुलियत दिनुपर्नेमा जोड दिदै यातायात संचालन गर्न कुनै अवरोध भए गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा गणेश हिमाल तराई यातायात प्रालिका अध्यक्ष आत्माराम थापाले जनताको सेवाका लागि बस सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो ।