सहुलियतपूर्ण ऋण कार्यक्रम सरकारको ऐतिहासिक कदमः मन्त्री ढुंगेल



१८ मंसिर, हेटौडा ।
बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले तीन प्रतिशत ब्याजमा सहुलियपूर्ण ऋण उपलब्ध गराउने निर्णय ऐतिहासिक कदम भएको बताएका छन् । सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको अवधारणालाई पुरा गर्न सहुलियतपूर्ण ऋण कार्यक्रम अगाडि सारिएको बताएका हुन् ।

विहिवार प्रदेश सरकारले विनियोजन गरेको ३ अर्बको कोषलाई बैंकमार्फत अधिकतम् ३ प्रतिशतको सहुलियतपूर्ण व्यजदरमा वितरण गर्नको बागमती प्रदेश सरकार र कृषि विकास बैंक तथा साना किसान लघुवित्त वित्तीय सस्थाबीच सम्झौता भएको छ । मन्त्री ढुंगेलले सम्झौताको तत्काल कार्यान्वयन गरिने बताउदै वाग्मती प्रदेश सरकारले शुरु गर्न लागेको युवा उद्यमशील कर्जा प्रवाह कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताए ।
प्रदेश सरकारले रोजगारी सिर्जना, पर्यटन प्रबद्र्धन तथा उत्पादन वृद्धि गराउने उद्देश्यले सञ्चालन गर्न लागेको युवा उद्यमशील कर्जा प्रवाह कार्यक्रममा दुई सरकारी बैंकहरुसँग सहकार्य भएको हो । प्रदेशका युवाहरु मार्फत प्रस्ताव आह्वानगरी कृषि, उद्योग, व्यापार व्यवसाय, रोजगारी, उत्पादन, पर्यटन, शैक्षिक कार्यक्रम, लघु तथा साना उद्योग, वन तथा वातावरणजन्य उद्योग, फोहोरमैला व्यवस्थापन, सामाजिक क्षेत्रसँग सम्बन्धित उद्योग लगायतमा बैंकमार्फत कर्जा लगानी गरी रोजगारी सिर्जना गर्ने तथा स्वरोजगार बनाउने कार्यक्रमका लागि सहुलियतपूर्ण व्याजदरमा ऋण उपलब्ध गराउन ३ अर्बको कोषको लागि बजेट व्यवस्था गरिएको छ ।

वाग्मती प्रदेश सरकारले प्रदेशभित्र रोजगारी सिर्जना गर्न तथा उत्पादन वृद्धि गर्न उद्यमशीलता गर्न चाहने नागरिकहरुका लागि सहुलियतपूर्ण व्याजदरमा ऋण उपलब्ध गराउने प्रवक्ता ढुंगेलले बताए । सरकारले कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानीगर्ने कार्य व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शीरुपमा सञ्चालन गर्न कार्यविधि समेत पास गरेको मन्त्री ढुंगेलले बताए ।
कार्यविधि अनुसार स्थानीय तहले सिफारिस गरेका आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका नागरिकहरुका लागि तोकिएको बैंकमार्फत कर्जा प्रवाह गरिने छ ।

कृषि विकास बैंकमार्फत हुने लगानीले देशमा रोजगार, व्यवसाय तथा उत्पादन समेत बढ्ने सरकारले अपेक्षा गरेको छ । लगानी पश्चात सरकारले वेरोजगार युवा जनशक्तिहरुलाई रोजगारमा आवद्ध गर्ने लक्ष्य सरकारले लिएको छ ।
महिला तथा दलित समुदायको उद्यमशीलतालाई प्रबद्र्धन गर्ने, उत्पादनशील कार्यक्रमको लागि लगानी प्रबद्र्धन गर्ने, कोरोना भाइरसको महामारीबाट प्रभावित कृषि, पर्यटन एवं रोजगारी मूलक घरेलु तथा लघु उद्योग व्यवसायीलाई पुनरुत्थान गरिने मन्त्री मन्त्री ढुंगेलले जानकारी दिए ।
सहुलियतपूर्ण व्याजदरमा ऋण लगानी कार्यक्रम कार्यान्वयनको नीतिगत विषयमा आवश्यक निर्देशनका लागि सम्बन्धित मन्त्रालयका मन्त्री संयोजक हुनेगरी निर्देशक समिति रहने छ । यसैगरी ऋण लगानी प्रकृया सहजीकरण तथा समन्वय गर्नका लागि सम्बन्धित मन्त्रालयका सचिव संयोजक रहनेगरी समिति बनाइएको जनाइएको छ ।

प्रदेशले कृषि व्यवसाय सम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण सम्बन्धी, उद्योग व्यवसाय, पर्यटन प्रबद्र्धन, व्यापार व्यवसाय, वन तथा वातावरण जन्य उद्योग, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास र फोहरमैला व्यवस्थापनतर्फ ऋण लगानी गर्ने भएको हो ।

सरकारले यसअघि अनुदानको रुपमा लगानी गर्ने गरेको भएपनि त्यसको प्रभावकारिता कम भएकोले लाभग्राहीलाई अपनत्व हुनेगरी कर्जाको रुपमा लगानी गर्न लागिएको मन्त्री ढुंगेलले बताए । एउटै रकमले पटक–पटक गरी धेरै लाभग्राहीहरुलाई सेवा दिन सकिने तथा बयाज मार्फत कोष पनि क्रमशः वृद्धि हुँदै जाने भएकोले प्रदेश सरकारले शुरु गर्न लागेको कार्यक्रम निकै प्रभावकारी हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्