कोरोनाबाट पूर्व सांसद लामाको निधन
२५ मंसिर, काठमाडौं ।
पूर्व सांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा लामाको बिहान दुई बजे निधन भएको हो । लामा कोभिड–१९ को संक्रमणबाट बिरामी थिए ।काभ्रेका दिग्गज कम्युनिष्ट नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए ।
लामा दक्षिण कोरियाका लागि राजदूतसमेत भएका थिए । पछिल्लो समय लामालाई कोरोना संक्रमण भएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । सुगर र प्रेसरको बिरामी समेत रहेका पूर्वराजदूत लामाले पनि फेसबुकमार्फत आफूलाई कोरोना लागेको भन्दै अस्पताल भर्ना भएको फोटो फेसबुकमा पोष्ट गरेका छन् ।
काभ्रेको चौरीदेउराली गाउँपालिका घर भएका लामा २०४८ र २०६३ मा सांसद भएका थिए । दक्षिण कोरियामा राजदूत भएर फर्किएपछि उनी नेपाल कम्युनिष्ट पार्टीको राजनीतिमा सक्रिय थिए । उनी नेकपाका केन्द्रीय सदस्य हुन् ।