नेकपा कुनै पनि हालतमा फुटदैनः मन्त्री ढुंगेल



२६ मंसिर, रामेछाप ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले कुनै पनि हालतमा पार्टी विभाजित नहुने बताउनुभएको छ । उहाँले पार्टीभित्र देखिएको आन्तरिक समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभएको हो ।

नेकपा रामेछापका सह–इन्चार्ज समेत रहनुभएका मन्त्री ढुंगेलले पार्टीभित्र देखिएको हल्लाखल्लालाई अस्वाभाविक मान्न नहुने बताउनुभयो ।
रामेछापको मन्थली नगरपालिकाको फुलासीमा नवनिर्मित मावि हर्रेचिण्डे भवनको उदघाटन गर्दै उहाँले देशेका राजनीतिक केन्द्र भएको पार्टीभित्र बहस र विवाद हुने बताउनुभयो ।


नेपालका दुई ठूला पार्टी नेकपा कांग्रेस फुटदा राजवादी शक्ति बलियो हुने बताउदै पार्टीहरु विभाजित हुँदा लोकतन्त्र नै कमजोर हुने उहाँले बताउनुभयो । पार्टीलाई विभाजित बनाउने खेलमा कोही पनि लाग्न नहुने बताउदै मन्त्री ढुंगेलले भन्नुभयो,‘नेताहरुले कुरा बुझनु भएकै छ, अगेनामा हात हाल्ने आँट गर्दैनन्, आगोले पोल्छ भन्ने थाहा पाउँदा पाउँदै आगोमा हात हाले भने जसले हाल्यो त्यसैलाई पोल्छ ।’

नेकपा नेतृत्वको सरकार गठन भएपछि रामेछापको विकासमा आमूल परिवर्तन आएको बताउदै विगत दुई बर्ष अघिको तुलनामा विकासले फडको मारेको बताउुभयो । निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार नै आफूले काम गरिरहेको बताउदै मन्त्री ढुंगेलले जिल्लाका मुख्य सडकको कालोपत्रेको काम धमाधम भइरहेको बताउनुभयो ।
जिल्लाभित्र भौतिक पूर्वाधार विद्यालय भवन, अस्पताल, प्राविधिक शिक्षालय लगायतका धेरै काम भइरहेको बताउदै सरकारले राम्रो काम गर्दा पनि अनावश्यक रुपमा आलोचना हुने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्