एसिया रग्बीको कमिटी प्रमुखमा रामेछापका घिसिङ चयन
१ पुस, काठमाडौं ।
नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ ‘टलक’ले एसिया रग्बीको ‘अडिट एन्ड रिस्क कमिटी’को प्रमुखमा चयन भएका छन् । एसिया रग्बीका अध्यक्ष क्वाइस अल धलाईको अध्यक्षमा भएको कार्यसमितिको भर्चुअल बैठकले घिसिङलाई जनवरी २०२१ देखि डिसेम्बर २०२४ सम्मको लागि उक्त कमिटीका प्रमुखमा चयन गरको हो ।
एसिया रग्बीको कार्यसमितिमा पुग्ने र कमिटी प्रमुख हुने पहिलो नेपाली बनेका घिसिङ सन् २०१२ देखि नेपाल रग्बी संघको अध्यक्षमा निरन्तर छन् । उनकै पहलमा नेपालले नोभेम्बर २०१५ मा एसिया रग्बीको एसोसिएट सदस्य पाएको थियो भने जुन २०१८ मा पूर्ण सदस्य भएको थियो । नेपालले निकै संघर्ष गर्दै अक्टोबर २०२० मा वर्ल्ड रग्बीको एसोसिएसट सदस्यता लिएको थियो ।
२०५२ सालमा स्थापना भएपनि संघ निष्क्रिय रहेको थियो । घिसिङकै कार्यकालमा नेपालमा रग्बीको उमेर समूह, स्कुल स्तर र राष्ट्रिय प्रतियोगिता (महिला र पुरुष) सुरु भएको हो । महिला र पुरुष दुवैको नेपाली राष्ट्रिय टिमले पाँच वर्षयता एसिया रग्बी सेभेन्स ट्रफि नियमित खेलिरहेको छ । नेपाली टिमले रियो ओलम्पिक २०१६ को छनोट पनि खेलेको थियो ।
रामेछाप सुनापती गाउँपालिका निवासी घिसिङ एसिया रग्बीको ‘अडिट एन्ड रिस्क कमिटी’ को प्रमुख हुने पहिलो नेपाली हुन् । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता समेत रहेका घिसिङले एसिया रग्बीको नौ वटा कमिटिमध्ये एउटा कमिटीको प्रमुख जिम्मेवारी पाएका छन् । प्रमुखमा चयन भएका घिसिङले नेपाल रग्बी संघको अध्यक्षले एसिया रग्बीमा महत्त्वपूर्ण जिम्मेवारी पाउनु नेपालकै लागि खुसीको विषय भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘अहिलेसम्म नेपालले यति ठूलो जिम्मेवारी पाएको थिएन, यो नेपालको लागि गौरवको विषय हो ।’
गत वर्षमात्रै एसिया रग्बीको कार्यसमिति सदस्यमा घिसिङ निर्वाचित भएका थिए । ३५ वर्षीय घिसिङले ‘यो कमिटीले एसिया रग्बीको आर्थिक पाटोलाई हेर्नेछ । घिसिङका अनुसार एसिया रग्बीका सदस्य रहेका ३४ देशका संघहरूको आर्थिक पक्ष नियमानुसार पारदर्शी छ, छैन भन्नेसँगै त्यसबारे अनुगमन र अनुशिक्षण पनि गर्नुपर्ने हुन्छ । घिसिङको निरन्तरतको प्रयास स्वरुप अन्तर्राष्ट्रिस्तरमा नेपालको नाम चिनाउन सफल भएका छन् ।