रामेछाप नगरपालिकामा कानुन विपरीत कर्मचारी नियुक्ति
१ पुस, रामेछाप ।रामेछाप नगरपालिकामा कानुन विपरीत कर्मचारी भर्ना गरिएको पाइएको छ । नगरपालिकाले जारी गरेको सूचना विपरीत एक कर्मचारीलाई कानुन विपरीत नियुक्ति दिइएको पाइएको हो ।
नगरपालिकाले २०७७।०८।१२ को निर्णय अनुसार चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम अनुसार सञ्चालन गरिने गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमका लागि २०७८ मसान्त सम्मका लागि सेवा करामा नियुक्त गरी पदपूर्ति गर्न सूचना सूचना प्रकाशित गरेको थियो । सूचना अनुसार चौथो तहको लागि योग्यता पुगेका दुई जना व्यक्तिले मात्र दरखस्त दिएका थिए ।
तर नगरपालिको कानुन विपरीत समान योग्यता भएका मध्ये एक जना व्यक्तिलाई पाँचौ तहको नियुक्ति दिएको नगर कार्यपालिकाका एक सदस्यले बताए । ती सदस्यले भने,‘नियम कानुन अनुसार अगाडि बढनु पर्ने प्रमुख प्रशासकीय अधिकृतले हेर्दाहेर्दा नियम मिचेर निर्णय गरेको देखेर छक्क परेका छौं ।’ कानुन विपरीत काम भएको विषयमा आगामी नगर कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृतसँग जवाफ माग्ने ती सदस्यले बताए ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सीटीईभिटी) बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी डिप्लोमा कोर्ष उत्तीर्ण वा प्राविधिक शिक्षा तथा व्यवसायक तालीम परिषदबाट मान्यता प्राप्त उद्यम सहजकर्ता सम्बन्धी प्राविधिक प्रवेशिका परिक्षा (टी एसएलसी) उत्तीर्ण गरेको हुनुपर्ने नगरपालिकाले सूचनामा उल्लेख गरेको छ ।
तर दरखस्त दिने समान योग्यता भएका मध्ये नगरपालिकाले मनिषा अधिकारीलाई उद्यम विकास सहजकर्ता (सहायकस्तर पाँचौं)मा नियुक्ति दिएको छ ।रामेछाप नगरपालिकाका प्रमुख कार्यकारी अधिृकत रामचन्द्र लामगादेले नियम विपरीत दुवै जना समान योग्यता भएका मध्ये एक जनालाई चौथो र अधिकारीलाई पाँचौ तहको नियुक्ति दिएका हुन् ।
राजपत्रले सीटीईभिटी तालीम परिषद् नियमावली २०५१ समेतले कुन तहको स्किल टेस्ट उत्तीर्ण भएकाले कुन पोष्टमा काम गर्न पाउने भन्ने स्पष्ट तह निर्धारण गरेतापनि नगरपालिकाले तह २ मात्र स्किल टेस्ट उत्तीर्ण उम्मेदरलाई कानुनत चौथो तहको लागि योग्य भएपनि पाँचौ तहको नियुक्ति दिएको छ । तत्कालिन श्री पाँचको सरकारदेखि नै उक्त नियमावली कार्यान्वयनमा रहेको छ । अन्य स्थानीय तहले नियमावली अनुसार सहजकर्ता भर्ना गरेर नियुक्ति दिए पनि रामेछाप नगरपालिको भने कानुनलाई नै चुनौती दिने गरी नियुक्ति दिएको छ ।
नगरपालिकाले पाँचौं तहमा पर्याप्त दरखास्त नपरेमा चौथो तह चनौट गर्न सकिने सूचना प्रकाशित गरेको थियो । तर आफैले जारी गरेको सूचना विपरीत चौथो तहमा योग्य व्यक्तिलाई पाँचौं तहको नियुक्ति दिएपछि प्रमुख प्रशासकीय अधिकृत लामगादे विवादमा तानिएका छन् ।
यस विषयमा रामेछाप नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र लामगादेले नियुक्ति प्रक्रियामा त्रुटी भएको स्वीकार गरे । उनले रामेछाप न्युजसँग भने,‘पहिलाका कार्यविधि अनुसार दिन मिल्ने रहेछ, अहिले कार्यविधि संशोधन भएर आएको छ, हामी निर्णय प्रक्रिया सच्याउछौं ।’ मैले विश्वास गरेर आठौ तहको अधिकृतलाई छनोटको जिम्मेवारी दिएको थिए तर प्राविधिक रुपमा त्रुटी भएको छ, यसलाई सच्याएर अगाडि बढछौ, उनले भने ।
अनुसार हाल पाँचौ तहको नियुक्ती पाएका व्यक्ति यसअघि घरेलु कार्यालयमा पाँचौ तहमा कार्यरत भएको आधारमा नगरपालिकाले नियुक्ति दिएको थियो । ‘नियुक्ति प्रक्रियामा भएको गल्तीको जिम्मेवारी म लिन्छु’, उनले भने,‘पाँचौ तहमा नियुक्ति दिएका व्यक्तिलाई पुनः अब चौथो तहकै नियुक्ति दिएर निर्णय प्रक्रिया सच्याउछौं ।’