मन्थली नगरपालिका २४ सै घण्टा सिसी क्यामेराको निगरानीमा, सेलेघाट नाकामा थपिदै‌



१३ पुस, रामेछाप ।
प्रविधिको प्रयोगलाई बढाउदै मन्थली नगरपालिकाले बजार क्षेत्रको मुख्य भागमा सिसी क्यामेरा मार्फत निगरानी बढाएको छ । बजार क्षेत्रमा हुने दुर्घटना वा कुनै पनि अपराधिक गतिविधि हुन नदिन मन्थली नगरपालिकाले सिसी क्यामेराको प्रयोगलाई बढाएको हो ।

मन्थली नगरपालिकाले पहलमा बजार क्षेत्रमा हाल ३६ वटा सिसी क्यामेरा जडान भएर सञ्चालनमा आएको छ । बजार क्षेत्रमा जडान गरिएको सिसी क्यामेराको निगरानी भने जिल्ला प्रहरी कार्यालय रामेछापबाट हुँदै आएको छ । बजार क्षेत्रमा मात्र रहेको सिसी क्यामेराको संख्या बृद्धि गर्ने मन्थली नगरपालिकाले नीति लिएको छ । मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतल सिसी क्यामेरा जडानको कामलाई प्राथमिकता दिएको रामेछाप न्युजलाई बताए ।

उनले भने,‘अहिले नगरपालिकाको मन्थली बजार क्षेत्रमा ३६ वटा सिसी क्यामेरा जडान गरिएको छ, केही मर्मत गर्नुपर्ने काम पनि भइरहेको छ, छिट्टै रामेछाप प्रवेश गर्ने मुख्य नाका सेलेघाटमा पनि सिसी क्यामेरा जडान गदैछौं ।’

मन्थली बजारमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न २४ सैं घण्टा सिसि क्यामेरा मार्फत निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले बताए । सुरुको चरणमा बजारलाई सुरक्षित बनाउन जिल्ला सुरक्षा समितिको योजना र उद्योग वाणिज्य संघ रामेछापको नेतृत्वमा मन्थलीको भैसेश्वरदेखि बसपार्कसम्म १६ वटा क्यामेरा जडान गरिएको थियो । त्यसैगरी पछिल्लो समयमा मन्थली नगरपालिकाले सिसी क्यामेराको संख्या बढाउदै लगेको छ ।

सिसि क्यामेराको मनिटरिङ गर्न जिल्ला प्रहरी कार्यालयमा ४० इन्चको स्क्रिन राखिएको छ । प्रहरीले सिसि क्यारामेरा मार्फत मन्थली बजारको सबै गतिविधि निगरानी गर्दै आएको छ । सिसि क्यामेरा जडान भएपछि बजारको सुरक्षा गर्न धेरै सहज भएको प्रहरीले पाठकले बताए ।
नगरप्रमुख बस्नेतका अनुसार चार वटा मन्थली बजार क्षेत्रमा र दुई वटा सिसी क्यामेरा सेलेघाट नाकामा राखिनेछ । उनले आगामी दिनमा आवश्यकताको आधारमा सिसी क्यामेरा थप्दै जाने बताए ।

प्रतिक्रिया दिनुहोस्