रामेछापमा अब ‘एक वडा एक हेलिप्याड’ निर्माण अभियान
२८ पुस, रामेछाप । भौगोलिक विकटता रहेको हिमाली जिल्ला रामेछापमा ‘एक वडा, एक हेलिप्याड’ निर्माण अभियान सञ्चालन हुने भएको छ । भू–क्षय, बाढीपहिरो, नदी कटान, आगलागी जस्ता प्राकृतिक तथा दैवी प्रकोपका घटना भए तत्कालै उद्धार गर्नका लागि जिल्लामा हेलिप्याड अभियान सञ्चालन गर्न लागिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति रामेछापको अगुवाइमा ‘एक वडा, एक हेलिप्याड’ निर्माणको अभियान सुरु गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले बताएको छ । सडक सञ्जालको अवस्था पनि खासै राम्रो नभएको हुँदा जिल्लाभरी हेलिप्याड निर्माणको अभियान अगाडि सारिएको बताइएको छ । जिल्लामा विपद् व्यवस्थापन र आपत्कालीन उद्धारको कामलाई व्यवस्थित बनाउन हेलिप्याड निर्माणको कार्यलाई अगाडि बढाउने भएको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाई)ले विपद् व्यवस्थापनमा खोज, उद्धार र राहत वितरणको कामलाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समितिमार्फत ‘एक वडा, एक हेलिप्याड’ निर्माणको अवधारणा अगाडि सारिएको रामेछाप न्युजलाई बताए ।
प्रजिअ शर्माले स्थानीय तहसँग समन्वय गरेर काम अगाडि बढाउने बताउदै विपदपछिको उद्धारको लागि हेलिप्याड अत्यन्तै आवश्यक भएको बताए । मनसुनको समयमा हुने विपद् लगायत अध्य विपद् पीडित र आकास्मिक रुपमा दुर्घटनाबाट हुने घाइते एवं विरामी तथा सुत्केरीको उघार गर्ने प्रयोजनका लागि एक वार्ड एक हेलिप्याड निर्माणको अभियानलाई सबै स्थानीय तहहरुले कार्यान्वयनमा ल्याउने निर्णय जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले गरेको छ । स्थानीय तहहरुले पनि हेलिप्याडक निर्माणको कामलाई अगाडि बढाउने नीतिगत निर्णय समेत गरिसकेका छन् ।